Butwal Today

रुपन्देहीका उम्मेदवारको योग्यता: साक्षरदेखि पाइलट र विशेषज्ञसम्म

१३ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल, १३ माघ ।

रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । ५ निर्वाचन क्षेत्रबाट ६५ जना स्वतन्त्रसहित १५९ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये २ जनाको उम्मेदवारी फिर्ता र खारेजी भएको छ । बाँकी १ सय ५७ जना चुनावी मैदानमा छन् ।

उम्मेदवारहरूले आफ्ना योजनाका बारेमा सामाजिक सञ्जालमा प्रचार थालेका छन् । उम्मेदवारहरूका बारेमा पनि उत्तिकै चर्चा परिचर्चा सुरु भएको छ ।

रुपन्देहीमा पूर्व उपप्रधानमन्त्रीदेखि उद्यमी, व्यवसायीसम्मका व्यक्ति चुनावी मैदानमा छन् । उनीहरू आआफ्ना क्षमता र योग्यता प्रस्तुत गरिरहेका छन् । हामीले रुपन्देहीका उम्मेदवारहरूमध्ये प्रमुख दलका उम्मेदवारहरूको शैक्षिक योग्यता खोजविन गरी तुलना गरेका छौँ ।

उम्मेदवारहरूले निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरणअनुसार रुपन्देहीमा सामान्य लेखपढका व्यक्तिदेखि पाइलट, विद्यावारिधि पूरा गर्दै गरेका र चिकित्सकसम्मका योग्यता हासिल गरेका व्यक्ति चुनावमा उम्मेदवार बनेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं. १ मा दधिराम न्यौपाने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्व माओवादीका नेता न्यौपाने एकतापछि एमालेमै रहेका छन् ।

उनले एसएलसी सम्मको अध्ययन गरेका छन् । जन्मस्थान अर्घाखाँची र बसोबास बुटवल कालिकानगर भए पनि उनको ठेगाना देवदह नगरपालिकाका स्थायी बासिन्दा उल्लेख छ ।

क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका सुनिल लम्साल तिलोत्तमा नगरपालिका भलवारी निवासी हुन् । उनी काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि अध्ययन गर्दै छन् ।

घनश्याम यादव अहिर प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–१ बाट नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्दै छन् । उनी रुपन्देहीको रोहिणी गाउँपालिकाका हुन् । उनले एसएलसी सम्मको अध्ययन गरेका छन् ।

निलुकुमारी चौधरी ओमसतिया गाउँपालिकाकी स्थायी बासिन्दा हुन् । उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीबाट चुनाव लड्दै छिन् । चौधरीले टिकुलीगढ माविबाट प्रमाणपत्र स्तरको अध्ययन पूरा गरेकी छन् । उनी पशु चिकित्सक पनि हुन् ।

हिरा केसी सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट चुनावी मैदानमा छन् । पाँच वर्ष सम्म देवदह नगर पालिकाको मेयर भएर काम गरेको अनुभव केसीसँग रहेको छ । उनको शैक्षिक योग्यता निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छैन ।

रुपन्देहीको क्षेत्र नं. २ बाट निरन्तर चुनाव लड्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पूर्व उपप्रधान तथा अर्थमन्त्री हुन् ।

निर्वाचन आयोगको विवरणमा पौडेलको स्याङ्गजा जन्मथलो र बुटवल उपमहानगरपालिका बुद्धपथ स्थायी ठेगाना उल्लेख छ । उनले यसअघि पाल्पा क्षेत्र नं. २ बाट चुनाव लड्ने निधो गरेपनि अन्त्यमा रुपन्देही क्षेत्र नं. २ मा नै उम्मेदवारी दर्ता गराएका छन् । उनले एसएलसी सम्मको अध्ययन गरेका छन् ।

नेपाली कांग्रेसबाट पहिलो पटक चुनावी मैदानमा देखिएका चुन्नप्रसाद शर्मा यस क्षेत्रका सफल व्यवसायी हुन् । बागलुङमा जन्मिएका शर्मा बुटवलको कालिकानगरका बासिन्दा हुन् । शर्माको शैक्षिक योग्यता सामान्य लेखपढ उल्लेख छ ।

नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका सुभाष पाण्डे विश्वदीपले रुपन्देहीको क्षेत्र नं. २ बाट चुनाव लड्दै छन् । रुपन्देहीको सैनामैना बनकट्टामा जन्मिएका पाण्डेले स्नातक सम्मको अध्ययन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. २ का लागि उम्मेदवार बनेका सुलभ खरेल बुटवल उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनले स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् ।

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि तिलोत्तमा नगरपालिका स्थायी घर भएका वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उनले रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामै चुनाव जितेका थिए ।

अहिले एमालेको तर्फबाट चुनावी मैदानमा रहेका घिमिरेले स्नातक सम्मको अध्ययन पूरा गरेका छन् । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर पनि हुन् ।

नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गरेका सुशील गुरुङ सिद्धार्थनगर नगरपालिका नयाँ गाउँ निवासी हुन् । उनले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ प्रतिनिधि सभाका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । थापाले काठमाडौँ विश्वविद्यालयबाट चिकित्सा विद्यामा विशेषज्ञता हासिल गरेका छन् ।

रुपन्देहीको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गौरव बोहोराले उम्मेदवारी दर्ता गराएका छन् । बावु दिपक बोहोराको निधनपछि राप्रपाले छोरालाई अघि सारेको छ । सिद्धार्थनगर नगरपालिकाका स्थायी बासिन्दा बोहोराले एयरलाईन ट्रान्सपोर्ट लाइसेन्स प्राप्त गरेका छन् ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट अध्ययन पूरा गरेका छन् । उनी व्यावसायिक विमान उडानको लाइसेन्स प्राप्त पाइलट हुन् ।

रुपन्देहीको क्षेत्र नं. ४ मा आशुतोष मिश्रको उम्मेदवारी परेको छ । उनले नेपाली काँग्रेसको तर्फबाट रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । रुपन्देहीको मर्चवारी गाउँपालिकाका बासिन्दा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् ।

रुपन्देही समरीमाई गाउँपालिकाकाका बासिन्दा बावुलाल यादव नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार हुन् ।

२०५२ सालबाट कम्युनिस्ट आन्दोलमा संगठित भई काम गरेका यादवले २०७४ सालमा संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट संविधान सभा सदस्य भई निर्वाचन लडेका थिए । उनले गोरखा विश्वविद्यालय भारतबाट बिए सम्मको अध्ययन गरेका छन् ।

मर्चवारी गाउँपालिका रायपुरका कन्हैया बनियाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देहीको क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय स्तरमा व्यवसायीको रूपमा परिचित बनियाले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

नेकपा एमालेले यस पटक रोहिणी गाउँपालिकाका प्रमोदकुमार यादवलाई रुपन्देहीको क्षेत्र नं. ४ बाट उम्मेदवार बनाएको छ । उनले स्नातक सम्मको अध्ययन गरेका छन् ।

यस्तै, नेकपा एमालेको तर्फबाट रुपन्देहीको क्षेत्र नं. ५ मा उम्मेदवारी दिएका खिमलाल भट्टराई सैनामैना निवासी हुन् । उनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । भरत कुमार शाह रुपन्देहीको क्षेत्र नं. ५ का लागि नौलो नाम होइन ।

शाह यो क्षेत्रबाट नेपाली काँग्रेसबाट धेरै पटक चुनाव लडिसकेका छन् । पूर्व राज्य मन्त्री रहेका शाहले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर ५ मा मुहम्मद वकिल मुसलमानलाई उम्मेदवार बनाएको छ । पूर्व सङ्घीय वन मन्त्री रहेका मुसलमान लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उनले एसएलसी सम्मको अध्ययन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सिद्धार्थनगर निवासी तौफिक अहमत खानलाई क्षेत्र नं. ५ बाट उम्मेदवार बनाएको छ । खानले एमबिए सम्मको अध्ययन गरेका छन् ।

रुपन्देहीको क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टीले समान्य लेखपढ गर्न सक्ने मुहम्मद बहिद फकिरलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीले क्षेत्र नं. ५ मा सैनामैनाका केशव भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिकाकी चन्दा थापालाई राष्ट्रिय जनमुक्ति पार्टीले क्षेत्र नं. ५ मा उम्मेदवार उठाएको छ । उनको शैक्षिक योग्यता सामान्य लेखपढ मात्रै हो ।

देश विकासको एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको योग्यता फागुन २१ मा हुने मतदानबाट जाँचिनेछ । तर, विश्लेषकहरू देश विकास र नीति निर्माणको तहमा पुग्ने नेताहरूको शैक्षिक योग्यता समेत जाँचिनुपर्ने बताउँछन् ।

औपचारिक शिक्षा हासिल गरेको व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्ने उनीहरूको तर्क छ । अध्येता रामचन्द्र श्रेष्ठ सबै व्यक्ति सबै कुरामा विज्ञ नभए पनि औपचारिक शैक्षिक योग्यता आवश्यक पर्ने बताउँछन् ।

“राजनीतिका लागि अहिलेको अवस्थामा शैक्षिक योग्यता आवश्यक पर्छ, त्योसँगै राजनीतिक चेत जरुरी हुन्छ । पुराना नेताहरू अनुभव र सिकाइले पनि अब्बल बनिरहेका छन्,”–उनी भन्छन्–“त्यसमाथि शैक्षिक ज्ञानले सुगन्ध भरिदिने काम गर्छ ।”

युवा नेतृ सरिता श्रीस देशको भविष्य कोर्न अघि बढेका नेताहरूमा न्यूनतम शैक्षिक योग्यता अनिवार्य हुने बताउँछिन् । “आजको समाजलाई लिड गर्न पनि औपचारिक शैक्षिक योग्यताले महत्त्व राख्छ ।

त्योसँगै समाज, राजनीति, जनताको भावना र व्यवस्थापकीय जिम्मेवारी बहन गर्न सक्ने नेता समाजका लागि आवश्यक पर्छ”–उनले भनिन् ।