© 2026
काठमाडौँ ।
१३ अर्ब ७८ करोडको कारोबार भएको भोलिपल्ट सोमबार पुनः सेयरबजारमा उच्च कारोबार भएको छ ।
साउन १४ मा १६ अर्ब ४४ करोडको कारोबार भएयता पहिलो पटक ६ महिनामा बजारमा सोही हाराहारीमा कारोबार भएको हो, नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार लगानीकर्ताले १६ अर्ब ३५ करोडको सेयर किनबेच गरेका हुन् । ३ करोड ६२ लाख कित्ता खरिदबिक्रीपछि यो परिमाणमा कारोबार भएको हो ।
यस दिन सेयरबजारले करेक्सन लिएको छ । नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेको छ, तर कारोबार रकम भने उच्च दरले बढेको छ ।
करेक्सन भएको बजारमा ८८ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ । सोमबार ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १८८.१०, १०४.५०, ८८.८०, ८२.९० र २६.९० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि प्रतिकित्ता १६८.९० रुपैयाँ आर्जन गरेका छन् । यसबाहेक ट्रेड टावर, त्रिशूली जलविद्युत्, बन्दीपुर हाइड्रो लगायतका कम्पनीको सेयर पनि बढेको छ ।
आज कम्पनीहरूको सेयरमा अधिकतम ३.१२ प्रतिशतको सामान्य गिरावट देखिएको छ । यस दिन नेशनल हाइड्रोपावरका लगानीकर्ता ‘टप लुजर’ बनेका छन्, उनीहरूले प्रतिकित्ता ६.९० रुपैयाँ मात्र गुमाएका छन् ।
शीर्ष कारोबारमा हिमालयन पावर पार्टनर्स अगाडि रह्यो । कम्पनीको ६५ करोडको किनबेच भएको छ । यसबाहेक आखुखोला जलविद्युत् कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्स ५२ करोड, एसवाई प्यानल ५० करोड र बन्दीपुर केबलकार ४० करोडको किनबेच भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा करेक्सन आएको छ । बाँकी सूचकहरू भने हरियो रहे ।
चुनावी सुनिश्चिततासँगै पछिल्लो समय सेयरबजारमा राम्रो सुधार देखिन थालेको छ ।