© 2026
काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभर मौसम प्रतिकूल हुने जनाएको छ ।
महाशाखाका अनुसार सोमबार मौसम सामान्यतया सफा रहनेछ । तर, मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
सोमबार दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्नेछ । देशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली हुनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सुरुवात हुन सक्नेछ ।
मंगलबार दिउँसोबाट पश्चिमी वायुको प्रभाव थप सक्रिय हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा बदली भई थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ । कर्णाली र सुदूरपश्चिमका बाँकी भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मंगलबार राति मौसम अझ खराब हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भू–भागमा बदली हुनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना छ भने पहाडी भू–भागमा मध्यम वर्षा हुन सक्नेछ ।
तराईका थोरै स्थानमा हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ ।
बुधबार मौसम प्रणाली देशभर फैलिनेछ । बुधबार दिउँसो देशभर सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार रातिबाट मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहे पनि बाँकी भू–भागमा आंशिक बदली मात्र रहनेछ ।