© २०२३
दाङ, १७ पुस ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा कानुन विषयमा स्नातक तहसम्म पढाइ भइरहेकोमा यस वर्षदेखि वन विज्ञानतर्फ स्नातक तहसम्मको कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हृदयरत्न बज्राचार्यले कलेजले वन विज्ञान विषय स्नातक तहसम्म कक्षा सञ्चालनका लागि विश्वविद्यालयले सम्बन्धन दिन प्रक्रिया अघि बढाउने तयारी गरेको बताए ।
उपकुलपति बज्राचार्यले स्नातक तहसम्म वन विज्ञान विषय पढाउने कलेज यस क्षेत्रमा नभएकाले स्नातक तहसम्म कक्षा सञ्चालन अनिवार्यजस्तै भएको बताए । उनले कक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधारका लागि कलेजलाई अघि बढाउन आग्रह गरे ।
कलेजका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले आवश्यक पूर्वाधार र आवश्यक परेको अवस्थामा पाठ्यक्रम तयारीका लागि प्रक्रिया अघि बढाइने बताए । यहाँ पढ्न चाहने विद्यार्थीलाई सजिलै आफ्नो गाउँठाउँमा पढ्न सहयोग पुगोस् भन्न्ो उद्धेश्य रहेको बताए । उनले विश्वविद्यालयसंग समन्वय र सहकार्य गरेर बौद्घ संस्कृतिको अध्ययन अनुसन्धानका कार्यहरुलाई अघि बढाउन तयार रहेको बताए ।
कलेजका प्राचार्य वसन्त आचार्यले प्रविणता प्रमाणपत्र तहमा वन विज्ञान विषय पढ्ने विद्यार्थीहरु बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर अध्ययन गर्ने गरेको बताए । उनले तुलसीपुर उपमहानगरपालिकाभित्र एकसयभन्दा बढी सामुदायिक वन रहेकाले वन विज्ञान विषयको स्नातक तह कक्षा सञ्चालनका लागि प्रयोगात्मक अभ्यासका लागि समस्या सिर्जना नहुने बताए । विश्वविद्यालयको सहकार्यमा कलेजले स्नातक तह कक्षा सञ्चालनका लागि विशेष कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।