Butwal Today

रिटर्नीहरुबाट देशले लाभ लिने वातावरण बनाउँछु : विश्वदीप

१० माघ २०८२, शनिबार
अ+
अ-

बुटवल ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) ले वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नेपालीहरूको ज्ञान, सिप र अनुभवबाट देशले प्रत्यक्ष लाभ लिने वातावरण बनाउन पहल गर्ने बताएका छन्।

रिटर्नी सेन्टर नेपालद्वारा शनिबार बुटवल–१२ मिलनपार्कमा आयोजित भेला तथा वनभोज कार्यक्रममा सम्बोधन गर्दै उनले रिटर्नीहरूलाई उद्यमशीलतासँग जोड्ने स्पष्ट नीति आवश्यक रहेको बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप र पुँजीलाई देशको आर्थिक विकासमा उपयोग गर्न सके आत्मनिर्भर अर्थतन्त्रको आधार बलियो हुने उनको भनाइ थियो।

उम्मेदवार पाण्डेले विगतमा नेपालमै पहिलो पटक रिटर्नी उद्यमशील कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको स्मरण गराउँदै उक्त कार्यक्रम एमाले सरकारको पालामा रोकिन पुगेको आरोप लगाए।

बाध्यताले नेपाली युवाहरू विदेशिनुपरेको उल्लेख गर्दै अब सांसदमार्फत वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै रोजगारी र उद्यमसँग जोड्ने नीति अघि बढाउने प्रतिबद्धता जनाए।

उनले वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरू ठगिने समस्या अझै कायम रहेको बताउँदै त्यसको समाधानका लागि वडा तहबाटै सेवा प्रवाह, सहजीकरण र नियमनको व्यवस्था मिलाउने बताए ।

“वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने, “त्यसबिच विदेश जानै पर्ने युवाहरूका लागि सहज, सुरक्षित र निःशुल्क प्रणाली विकास गर्न पहल गर्छु।”

उनका अनुसार वडा तहमा नै बैङ्कमार्फत बिना ब्याज ऋण उपलब्ध गराउने र विदेशबाट कमाएको रकम सोही खातामा पठाउने व्यवस्था गर्न सकिनेछ। “यसले म्यानपावरको ठगी, अनावश्यक शुल्क असुली र हुन्डी कारोबार अन्त्य गर्न मद्दत गर्नेछ,” उनले स्पष्ट पारे।

कार्यक्रममा सहभागी रिटर्नीहरूले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि दीर्घकालीन नीति र व्यावहारिक कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।