© 2026
सल्यान, १० माघ ।
सल्यान सदरमुकाम खलङ्गा नजिक थापागाउँको नयाँ बसपार्कमा जग्गादाता स्व. लक्ष्मण देवकोटाको शालिक निर्माण गरिएको छ । शारदा नगरपालिका वडा नम्बर, ३ स्थित बसपार्कमा सालिक अनावरण गरिएको हो ।
आँफुहरुको दाजुभाइ, दिदीबहीनी तथा आफन्तहरुको सहयोगबाट स्वर्गीय बुवा लक्ष्मणको सम्झनामा सालिक निर्माण गरिएको छोरा महेश देवकोटाले जानकारी दिए ।
वि.सं. २०६६ सालमा स्व. लक्ष्मणको नाममा उहाँकी श्रीमती देवी देवकोटाले बसपार्क निर्माणको लागि भनेर करिब तीन रोपनी जग्गा दान गरेकी थिइन् । यद्यपि त्यस स्थानमा सालिक राख्नका लागि स्थानीय तह, प्रदेश सरकार तथा अन्य निकायमा पहल गर्दा सम्भव नभएपछि श्रीमती देवीले पूर्व सांसद अनिसा नेपालीलाई जानकारी गराएकी थिइन् ।
सालिक निर्माणमा सघाएकी नेपालीले शुक्रबार निर्माण भएको सालिकको अनावरण गरेकी हुन । उनले हाल प्रयोगमा नआएको उक्त बसपार्कलाई नियमित सञ्चालनका लागि यातायात प्रालिहरुको ध्यानाकर्षण गराइन ।
करिब पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्कका लागि अन्य स्थानीयहरू स्व. दीपक केसी, स्व. अर्जुन वली तथा सुरेश महर्जन, राधा शर्माले पनि जग्गा दान गरेका थिए ।
सदरमुकाममा बसपार्क नभएको र भीमसेन स्थानमा अस्थायी रूपमा गाडी राख्ने गर्दा सबैलाई समस्या भएपछि स्थानीयहरूले दान गरेको जग्गामा सडक डिभिजन कार्यालय दाङ र तत्कालीन जिल्ला विकास समिति सल्यानले लगानी गरेर बसपार्क निर्माण गरेका थिए ।
यसका लागि करिब दुई करोड रुपियाँ लगानी भएको बताइएको छ । थापागाउँको यो बसपार्क ३० भन्दा बढी गाडी अटाउने क्षमताको छ ।