© 2026
भैरहवा, १० माघ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले शुक्रबार भैरहवामा एक विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ ।
सङ्घको आफ्नै सचिवालयमा आयोजित उक्त कार्यक्रममा उद्योगी, व्यवसायी र भन्सार प्रशासनका अधिकारीहरू बिच नेपाल भन्सार प्रशासनका चुनौती बारे छलफल भएको थियो ।
अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायीले वर्तमान भन्सार ऐन र कार्यविधि झन्झटिलो रहेको बताउँदै यसलाई समयसापेक्ष परिमार्जन गर्न राज्यसँग माग गरेका छन् ।
व्यवसायीहरू ठाकुर कुमार श्रेष्ठ, विष्णु प्रसाद शर्मा, कुल प्रसाद न्यौपाने लगायतले ऐन र कार्यविधिको दोहोरो अर्थ लगाएर दुःख दिने गरेको र एउटै सामानलाई फरक–फरक दृष्टिकोणले हेर्दा प्रक्रियामा ढिलाइ हुने गरेको गुनासो गरे ।
“भन्सार शुल्क तिरेपछि पनि सामान प्राप्त गर्न ढिलाइ हुँदा ठुलो आर्थिक भार खेप्नुपरेको छ,” व्यवसायीहरूले भने, “खुला सिमानाका कारण सिर्जित समस्या समाधान गर्न राज्यले छिमेकी मुलुकसँग कूटनीतिक पहल गरी सिमाना व्यवस्थित गर्नुपर्छ ।”
बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सार कार्यालय सधैँ व्यवसायीकै पक्षमा रहेको दाबी गरे । उनले अन्य निकाय जस्तै प्रहरी प्रशासन, बैङ्क वा अन्य विभागका कारण हुने ढिलाइको दोष भन्सारलाई दिन नहुने तर्क गरे ।
प्रमुख पौडेलले भन्सारले विना कारण कुनै पनि सामान नरोकेको बताउँदै कतै समस्या परे सिधै आफूलाई जानकारी गराउन आग्रह गरे ।
सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राधेश्याम दहाल, आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत नरेश पन्थी, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का लगायतले बोल्दै व्यवसायीले राज्यलाई बुझाउनुपर्ने शुल्क बुझाइसकेपछि सामान ढुवानीमा कुनै अवरोध हुन नहुनेमा जोड दिए ।
भन्सार विना राज्य र व्यवसायी विना अर्थतन्त्र चल्न नसक्ने भएकाले दुवै पक्षबिच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको सहभागीहरूको निष्कर्ष थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव कृष्ण प्रसाद घिमिरेले गरेका थिए ।