© 2026
आज सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी । वसन्त ऋतुको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो ।
आजको दिन विद्यार्थीका लागि मात्रै होइन, हामी सबैको लागि विशेष दिन हो । किनभने आजको दिन हामी सबैले विद्याकी खानी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । आजको दिन सरस्वतीको पूजा आराधना गरेमा देवी सरस्वती प्रसन्न हुन्छिन् र विद्याले भरिपूर्ण गरिदिन्छिन् भन्ने विश्वास गरिन्छ । त्यसैले विशेष गरी विद्यार्थीहरूले आजको दिनलाई विशेष रूपमा मनाउँछन् ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
उनको प्रतिकात्मक चित्र, वाहन, हातमा लिएका वाद्य यन्त्र सबैले खास अर्थ बोकेका छन् । नेपाली पञ्चाङ्ग अनुसार वार्षिक चक्र अन्तरगत वर्षभर नै विभिन्न चाडपर्व आउने गर्छन् । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैनन्, खास अर्थ पनि राख्छन् ।
कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्त्व हुन्छ । श्री अर्थात् शुभारम्भ हो । पूर्वीय मान्यता अनुसार कुनै पनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन ।
त्यसैले आजको दिन साना नानी बाबुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात् अक्षरारम्भको उपयुक्त अवसर मानिन्छ । आजको दिनलाई बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्त्व मञ्जुश्रीको रूपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने गरिन्छ । तसर्थ सरस्वती पूजा कुनै एक धर्मको भन्दा पनि विद्या आर्जन गर्ने सबै सम्प्रदायका लागि उत्तिकै महत्वको दिन हो ।
वसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती वसन्त पञ्चमीकै दिन गरेको भन्ने पौराणिक मान्यता छ ।
त्यसैले हरेक वर्ष वसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ । वसन्त पञ्चमीको दिन पहेँलो रंगको विशेष महत्त्व हुन्छ । पहेँलोलाई बसन्तको प्रतीक मानिन्छ । वसन्त ऋतुलाई सबै मौसमहरूमध्ये श्रेष्ठ मानिन्छ ।
त्यसैले त यही मौसममा सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ । आजको दिनमा विभिन्न तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट विद्यालयहरू सजिसजाऊ रहन्छन ।
तर, पछिल्लो समय तोरण बाटने मानिसको कमीले गर्दा तोरण परम्परा हराउँदै गएको छ । आज साना साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन पनि हो । सरस्वती पूजा, श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिएपनि विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गर्नुपर्दछ ।
आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ । वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन् ।
यी संस्कार नेपालीपनका अभिन्न अंग नै हुन । आजको दिन कापी कलम, हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत औजारहरू अनि अन्नबालीका साथै विभिन्न सामाग्रीको पूजा गर्ने दिन पनि हो । तसर्थ आजको दिनलाई नेपाली परम्परामा पुस्तौंपुस्तादेखि मान्दै आएको छौं ।
हामीले जुनसुकै धर्ममा विश्वास राख्ने भएपनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा विद्याकी देवी सरस्वतीको भूमिका महत्वपूर्ण रहेको कुरामा दुईमत छैन । अर्कोतर्फ आजको दिन सर्जकहरूको विशेष दिन पनि हो ।
आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन आजको दिनमा सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना । यो सिर्जनाको अभियान अनन्तः कालसम्म रहिरहोस् । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरूमा विद्याको महत्त्व अझै बढ्दै जाओस् । विद्या र ज्ञानको प्रवाह अविच्छिन्न होस् । सरस्वती पुजा, श्री पञ्चमी वा वसन्त पञ्चमी सवैको शुभकामना ।