© 2026
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पश्चिम नवलपरासीमा हेभीवेट नेतादेखि देशकै धनी विनोद चौधरीसम्म उम्मेदवार वनेका छन् ।
उनीहरू यसअघिको निर्वाचनमा पनि उम्मेदवार बन्दै कोही विजयी र पराजित भए । पश्चिम नवलपरासीमा नेताहरू आलोपालो विजयी बन्ने र पराजित हुने क्रम चलिरहेको छ । त्यो क्रम यो बर्षपनि सुरुवात भएको छ ।
उम्मेदवार बन्दै गर्दा नेताहरूले सुस्ताको विकासमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँछन् तर सुस्ताको दुःख बर्षौंदेखि उस्तै छ । सुस्ताका बासिन्दा दोश्रो देशको नागरिकजस्तै भएर बाँच्न विवस छन । चुनावमा भोट माग्न गएका नेताहरू जितेर वा पराजित भएपनि फर्केर नआउने त्यहाँका मतदाताको गुनासो छ ।
नेपालकै सवैभन्दा धनी विनोद चौधरीपनि पश्चिम नवलपरासीबाट उम्मेदवार वनेका छन् । उता आफ्नो बर्षाैदेखिको राजनीतिक पकड बनाएका ह्दयश त्रिपाठी समेत चुनावी प्रतिष्पर्धामा होमिएका छन । पश्चिम नवलपरासीको सवैभन्दा ठूलो दुःख सुस्ताको पीडा हो ।
तर, सुस्ताको विकास, त्यहाँका जनताले पाएको दुःख आदि विषयमा भने नेताहरूको ध्यान जान सकेको छैन । सुस्ता पुग्ने उमेदवारहरूले सुस्ताको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन तर, समस्या ज्यूँका त्यूँ छ ।
नेपाली कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पश्चिम नवलपरासी १ बाट पुनः उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा विजयी भएका चौधरीलाई आफ्नो विरासत जोगाउने मुख्य चुनौती छ । उहाँलाई कडा टक्कर दिन जनता समाजवादी पार्टी (जसपा) बाट अनुभवी नेता एवम् पूर्वमन्त्री हृदयश त्रिपाठी मैदानमा हुनुहुन्छ ।
तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिक्रम खनालको उम्मेदवारीले निर्वाचनलाई थप पेचिलो बनाएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्व महामन्त्री समेत रहेका संविधान सभा सदस्य खनाल हालै कांग्रेस परित्याग गरी रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिनुभएको छ ।
नेकपा एमालेले प्रभावशाली नेता रामप्रसाद पाण्डेलाई साझा उम्मेदवारका रूपमा अघि सारेको छ । नेकपाले पनि यस क्षेत्रमा आफ्नो बलियो उपस्थितिको दाबी गर्दै सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ । राप्रपाले पनि नवनित मिश्रलाई मैदानमा उतारेर आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पूर्वमन्त्री देवेन्द्रराज कँडेललाई नै उम्मेदवार बनाएको छ । राप्रपाबाट ध्रुव बहादुर प्रधान, रास्वपाबाट नरेन्द्र कुमार गुप्ता, एमालेबाट भगवती यादव, नेकपाबाट पूर्वमन्त्री देवेन्द्र पौडेल ‘सुनील’ समेत चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । नेताहरूको चुनावी अभियानमा सुस्ताको बिषय प्राथमिकतामा परोस् । सुस्ताको समस्या आश्वासनमा मात्रै होइन, प्रतिबद्धता र पूरा गरेर देखाउने बाचामा परिणत होस् ।
हाम्रा राजनेताहरू अहिलेमात्रै होइन, सुस्ताका जनताको समस्याप्रति सधै उदासिन रहँदै आएका छन् । सुस्ताका अधिकांश स्थानीयसँग जग्गाधनी पुर्जामात्रै होइन नागरिकता समेत नभएको कारण त्यहाँका जनता राज्यको सुविधा र पहुँचबाट टाढै वस्नुपरेको अवस्था छ ।
सुस्तावासीको यो ज्वलन्त समस्याको समाधान कसले गरिदिने ? राष्ट्रपतिदेखि मन्त्रीसम्मले आश्वासन दिएर गए तर सुस्तावासीकोसपना पूरा हुन सकेन । त्यसो त सुस्ताका नागरिकले सुस्ताको समस्या सुनाउन थालेको धेरै भएको छ । बिनोद चौधरी सोही क्षेत्रबाट चुनाव जितेर गए ।
यसअघि ह्दयश त्रिपाठीलेपनि धेरैपटक चुनाव जिते तर नेताहरूले सुस्ताको समस्यामा चासो नदिएको गुनासो स्थानीयको छ । सुस्ताका बासिन्दाले पाएको दुःख र पीडा बयान गरेरै नसकिने अवस्था छ । २०४६ सालयता नेपालमा दुई दर्जन सरकार बने । अव फागुन २१ गते निर्वाचनका लागि जनतासंग भोट माग्न नेताहरू फेरी सुस्ता पुग्नेछन ।
यसपटक उमेदवारहरूले आश्वासनको पोका बाँड्नेछन् तर समस्या समाधानमा कसको प्राथमिकता रहला ? चासोको बिषय वनेको छ । सुस्ताको समस्या सधै उस्तै हुने कि यसमा राज्यको तिनवटै तहका सरकारको ध्यान जाने ? अव सुस्ताका जनताले घर घरमा आउने नेताहरूसंग जवाफ माग्नुपर्छ ।