© 2026
बुटवल, ०८ माघ ।
प्रतिनिधि सभाको निर्वाचनको मनोनयन दर्ता गर्नुभन्दा दुई दिन अघिसम्म मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीको महासचिव थिए ।
पार्टीको केन्द्रीय महासचिव त्यागेर राईले एमाले प्रवेश गर्दैै बाँके २ मा उम्मेदवारी दर्ता गराए । २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका उनी २०६२/०६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।
यादव नेतृत्वको फोरममा उनी पार्टीको केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै दुई वर्षभित्रमै केन्द्रीय सचिव बने । २०६४ र २०७४ को निर्वाचन जितेका उनी २०७० र २०७९ को निर्वाचनमा पराजित भएका थिए ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा फोरमबाटै निर्वाचन जितेर उनी २०६८ मा श्रम यातायात मन्त्री बने । २०७४ को निर्वाचन जित्दै तत्कालीन नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बने ।
ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतको आदेशमा पुनस्र्थापित भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बने ।
तीनपटकसम्म मन्त्री बनेका राई मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी रहँदा पार्टी अध्यक्षदेखि नेता कार्यकर्तालाई आश्चर्यचकित बनाउँदै एमाले प्रवेश गरे र टिकट लिए ।
चुनावको समयमा आएर दल परिवर्तन गर्दै टिकट हात पार्ने चुनावी खेलाडी उनीमात्रै होइनन् । लुम्बिनी प्रदेशमा आसन्न निर्वाचनकै लागि पार्टीका पदाधिकारी तहका नेता र प्रदेश सभा सदस्यसम्मले दल बदलेका छन् ।
नेपाली कांग्रेसका प्रमोद यादवले मनोनयन दर्ता गर्नुभन्दा केही घण्टा अगाडि एमालेबाट रूपन्देही ४ मा टिकट ल्याए । यसअघि कांग्रेसबाट उम्मेदवारको दाबी गरेका उनले टिकट नपाउने सम्भावना देखेपछि एमालेबाट सोही क्षेत्रमा टिकट ल्याए ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले चुनावकै मुखमा पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
२०७९ को निर्वाचनमा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट उद्यमी विनोद चौधरीले टिकट पाएपछि असन्तुष्ट बनेका उनलाई पार्टीले उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कारबाही गरेको थियो ।
पार्टीबाट कारबाही फुकुवा भएपनि उनी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । पार्टीमा लामो समयदेखि कित्ताकाट भएकोले आफूले पार्टी छाडेको उनी बताउँछन् ।
“जिल्लामा बसेर राजनीति गर्नेहरूका कुरा सुन्न छाडेर अरूकै कुरा सुन्न थालियो, अरूलाई नै प्राथमिकता दिन थालियो”, उनी भन्छन्–“यो कुरा यहाँका जनतालाई पनि मान्य थिएन, त्यसकै प्रतिनिधित्व मैले गरेको हुँ ।”
कांग्रेसबाट उम्मेदवार सिफारिस भएका पूर्व एसएसपी विक्रम सिंह थापाले पनि पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् ।
यसअघि २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य कपिलवस्तु २ (१) मा ५ सय २२ मतको अन्तरले पराजित भएका उनी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचनमा होमिएका छन् ।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को १ बाट प्रदेश सभा सदस्य निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका नेता कन्हैया बानियाँले सांसद र पार्टी दुवै छाडेका छन् । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने टुंगो लागेपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरियाले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका छन् ।
कपिलवस्तुमै कांग्रेसका पूराना नेता तथा पूर्व प्रदेश सभा सदस्य विरेन्द्र कनोडिया पनि चुनावको मुखमा पार्टी बदल्नेहरूको सूचीमा परेका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा दाबी गरिरहेका उनी कांग्रेसमा नेतृत्व परिवर्तनपछि टिकट पाउने आशा झिनो भएको भन्दै एमाले प्रवेश गरेका हुन् । उनले कपिलवस्तु ३ मा एमालेबाट टिकट पाएका छन् ।
लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले सांसद र नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् । उनी नेकपाभित्र निश्चित व्यक्ति हाबी भएको र व्यक्तिको आदेशमा चल्न थालेकाले पार्टी परित्याग गरेको बताउँछिन् । “यसअघि पनि धेरैपटक मैले विद्रोह गरेकै हो”–उनी भन्छिन् ।
आफूले प्राथमिकता नपाएको भन्दै विद्रोहका नाममा नेताहरूको दल बदल्ने अभ्यास नौलो होइन । यसअघिका निर्वाचनमा पनि लुम्बिनी प्रदेशका तराई केन्द्रित निर्वाचन क्षेत्र र मधेशकेन्द्रित दलहरूमा दल बदल्दै चुनावी लाभ लिने नेताहरूको सूची लामै थियो ।
२०७९ को प्रदेश सभा निर्वाचनमा जनता समाजवादी पार्टीबाट टिकट लिएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्नुअघि सहश्राम यादवले पार्टी परित्याग गरी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।
नेकपा एमाले र जनता समाजवादी पार्टीका बिचमा भएको गठबन्धनबाट टिकटको पक्का भएका उनले मनोनयनको दिन काँग्रेस प्रवेश गरेका थिए । कपिलवस्तु क्षेत्र नम्बर १ (२) बाट उम्मेदवार बनेका उनी एमाले र जनता समाजवादी गठबन्धनका उम्मेदवार मधुसुदन चौधरीसँग पराजित भएका थिए ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ (२) मा टिकट नपाएपछि एमाले परित्याग गरी मिर्जा रासिद बेग जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनिन् । सो क्षेत्रमा जनता समाजवादी पार्टीबाट टिकट नपाएपछि जानकी यादव राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेर उम्मेदवार बनेकी थिइन् ।
कपिलवस्तु ३ (१) मा काँग्रेस परित्याग गरेर देवराज भारती जनमत पार्टीबाट प्रदेश सभाको उम्मेदवार बने । दाङमा टिकट नपाएपछि २०७९ को निर्वाचनमा एमाले नेतृ तथा पूर्व सांसद गङ्गा थारु पार्टी छाडेर हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनिन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा टिकट नपाउने भएपछि काँग्रेस जिल्ला सदस्य देवराज पाठक राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर उम्मेदवार बने । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादी पार्टीमा पुगेका दाङकै अर्का नेता सुरेन्द्र चौधरीले टिकट नपाएपछि राष्ट्रिय उन्मुक्ति पार्टीबाट २०७९ मा प्रतिनिधि सभा सदस्यको चुनाव लडे ।
काँग्रेस पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद पार्वती डीसी चौधरीले पनि टिकट नपाएपछि पार्टी छाडिन् । उनी राष्ट्रिय उन्मुक्ति पार्टीको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा थिइन् ।
राष्ट्रिय जनता पार्टी गठन गरेर वरिष्ठ उपाध्यक्ष बनेका हृदयेश त्रिपाठीले ६ महिनामा पार्टी छाडे र एमालेबाट चुनाव लडे । साबिक नवलपरासी निर्वाचन क्षेत्र नम्बर ६ बाट २०७० को निर्वाचनमा पराजय बेहोरेका त्रिपाठीले त्यसअघि पनि दल बदल्दै आएका थिए ।
राष्ट्रिय जनता पार्टी गठनअघि तराई मधेस लोकतान्त्रिक पार्टी र त्यसअघि नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) छाडेका थिए । २०६४ मा सद्भावना त्यागेर तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका थिए ।
२०४८, २०५१ र २०५६ को आम निर्वाचन र २०६४ को संविधान सभा निर्वाचनमा विजयी भएका त्रिपाठी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेस नेता विनोद चौधरीसँग पराजित भएका थिए ।
तराई मधेस लोकतान्त्रिकसहितका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका त्रिपाठी यस पटक जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् ।
कपिलवस्तुकै अभिषेक प्रताप साह र वृजेशकुमार गुप्ता पनि दल बदल्नेमा अगाडि नै छन् । कपिलवस्तुका साह संघीय समाजवादी फोरममा उपमहासचिव त्यागेर २०७४ को संसदीय निर्वाचनमा काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधान सभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी साहले यस पटक भने काङ्ग्रेसबाटै टिकट पाएका छन् । शाहले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता वृजेशकुमार गुप्ता २०७४ को संसदीय निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा सूर्य चिन्ह लिएर निर्वाचन लडेका थिए । तमलोपाकै सहमहामन्त्री इश्वरदयाल मिश्रले पनि सूर्य चिन्ह लिएर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए ।
वृजेशकुमार यस पटक एमालेले टिकट नदिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसरी निर्वाचनको मुखमा दल बदल्ने नेताहरूलाई विश्लेषकहरू सिद्धान्त र बिचार विहीन राजनीतिकर्मीको संज्ञा दिन्छन् ।
विश्लेषक सोमत घिमिरे दलहरूले राजनीतिक सिद्धान्त, नीति र निष्ठा छाडेको बताउँछन् । उनी भन्छन्–“राजनीतिक दलहरूले सिद्धान्त, नीति र आफ्ना मान्यता छाडे । दलले जसरी निष्ठा छाडे, उम्मेदवारहरूले पनि निष्ठा छाडे । दल र दल बदल गर्ने व्यक्तिको कुरा मिलेको छ ।”
उनी दल बदल्ने नेताको प्रवृत्ति संसदीय राजनीतिको चरम बेथितिका रूपमा लिन्छन् । “जनमतको प्रतिनिधित्व गर्ने, जनताको समस्याको समाधान गर्ने, संकटमोचन गर्ने भन्दा पनि फगत नाटकमा परिणत गरेको छ”–उनी भन्छन्–“यो जनताको दुःख हो ।
एउटा मान्छे अघिल्लो दिनसम्म एउटा पार्टीमा थियो, भोलिपल्ट अर्को पार्टीमा प्रवेश गरे । नेताहरूलाई पार्टी पार्टी छाड्न र दलहरूलाई नेता भित्र्याउन गाह्रो हुनुपर्ने । यो प्रवृत्तिले चुनावलाई चुनाव जस्तै बनाउँदैनन् ।”