© २०२३
मंगलबार भएको उत्साहजनक मनोनयनले मुलुक निर्वाचनमय बनेको महसुस भएको छ ।
निर्वाचन हुँदैन कि भन्ने आशङ्का अव करिब समाप्त भएको छ । सरकारदेखि निर्वाचन आयोग र राजनीतिक दलहरू सबै अब निर्वाचनमा होमिएका छन् । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने दायित्व मुलुकले सुम्पिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको परिणाम स्वरूप फागुन २१ गते नयाँ जनमतका लागि निर्वाचन हुँदै छ । जे होस मुलुक निर्वाचनमय भएको छ । सरकारका मन्त्रीहरू समेत राजीनामा दिँदै उम्मेदवार बनेकोले अव सरकारले निर्वाचन गराउँदैन कि भन्ने भ्रम समाप्त भएको छ ।
निर्वाचित जनप्रतिनिधिको समय पूरा नहुँदै संसद् भङ्ग भएपछि सुरु हुन लागेको यो निर्वाचन विशेष परिस्थितिमा भैरेकोले अव आउने जनमतले देशको मुख्य एजेन्डा सम्बोधन गर्ने विश्वास गरिएको छ । खास गरी जेनजी आन्दोलनले मुलुकबाट भ्रष्टाचार नियन्त्रण र कुशासन अन्त्यको जुन बिगुल फुकेको थियो, यो निर्वाचनले त्यही एजेन्डा पूरा गर्ने विश्वास गरिएको छ ।
अव मुलुक मुलुक निर्वाचनमा होमिइसकेको भन्दा अतिशयोक्ति हुँदैन । आम निर्वाचन भनेको राष्ट्रिय समस्यासँग सम्बन्धित र विकास निर्माणसँग सोझै जोडिएको निर्वाचन हो । त्यसैले यसमा जनतालाई मताधिकारबाट रोक्ने कार्य कसैबाट पनि हुन सक्दैन । त्यो कामपनि नगरौं ।
यो निर्वाचनमा ठूला–ठूला कुरा गर्ने भन्दा पनि आम रूपमा देशको समस्या के के हुन् र तिनको समाधानका लागि कुन पार्टीको उम्मेदवारसँग के वस्तुगत एजेन्डा छन्, त्यसको निक्र्यौल गरेर जनताले आफ्ना प्रतिनिधि चयन गर्नु बैधानिक र बिधिसम्मत हुन्छ ।
जुन एजेन्डा व्यावहारिक पनि हुनुपर्यो । ठूला कुरा गरेर एक–आपसमा हिलो छ्याप्ने तर केही पनि नगर्नेहरूलाई सजाय दिने यो जनतालाई प्राप्त अवसर पनि हो । त्यसैले अबको निर्वाचनमा सत्ता लुछाचुँडी भन्दा पनि विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिलाई ध्यान दिने उम्मेदवारलाई छनौट गर्ने आम मतदाताको तीब्र चाहना छ ।
मतदाताले आफ्ना उमेदवारसंग यसअघि कुनै दलका तर्फबाट कुनै आश्वासन बाँडिएका छन् र ती पूरा भएका छैनन् भने किन भएन भनेर ती दलका उम्मेदवारसंग सोध्न र प्रश्न गर्ने साहस गर्नु जरुरी छ । त्यसले मतदाताको जागरुकता र उमेदवारलाई बढी जवाफदेही बनाउने निश्चित छ ।
यो निर्वाचन गोप्य मतदान भएकोले निर्धक्क भएर सबै जनता निर्वाचनमा आफूलाई मन पर्ने उमेदवारलाई मतदान गर्नुपर्दछ । झै–झगडा गर्ने र एक–आपसमा निर्वाचन आयोगले तोकेको भन्दा बाहिर गएर तनाव सिर्जना गर्ने वा आचारसंहिता उल्लंघन गर्नेहरूलाई जनताले सजाय दिने मौका पनि यही हो ।
वास्तविक रूपमा आफ्नो क्षेत्रको विकासको लागि को लागिपरेको छ, उसलाई पुरस्कृत गर्ने मौका पनि यही हो । त्यसैले जनसमुदायले सचेत भएर निर्वाचनको यो महोत्सवमा सहभागी हुनु जरुरी रहेको छ । कसैलाई मुलुकको यथास्थितिमा चित्त बुझेको छैन भने मतदानमार्फत विद्रोह गर्ने समय पनि यही हो । त्यसैले फागुन २१ गते हुने निर्वाचनमा मतदाताले यो उपयुक्त अवसर गुमाउनु हुँदैन ।
मंगलवार मनोनयन दर्ता भैसकेकोले अब मुुलुकभर निर्वाचनको वातावरण तयार भैसकेको छ । निर्वाचन जनताको जनादेश लिने सबैभन्दा महŒवपूर्ण अवसर पनि भएकोले कोहीपनि नचुकौं र नछुटौं । निर्वाचनको प्रचार प्रसारको क्रममा दल र उम्मेदवारहरूले झिना–मसिना कुरामा झगडा गरेर अवस्थालाई तनावपूर्ण बनाउने काम गर्नु हुँदैन ।
जनतालाई शान्तिपूर्ण ढंगले आफ्नो विवेक प्रयोग गर्ने वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नु जरुरी छ । खासगरि राजनैतिक दल, सरकार लगायतका निर्वाचन आयोग र उम्मेदवारहरू आफैले पनि जनताको यो अधिकारको सम्मान गर्दै मुलुकलाई निर्वाचनमय बनाउनेतर्फ सहजता प्रकट गर्नुपर्दछ । सार्वभौमसत्ता जनताको मताधिकारको अधिकार प्रयोग गर्ने अवसरलाई बञ्चित गर्ने काम पनि नगरौं ।
मुलुक निर्वाचनमय वनेकोले अब स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचनको अपेक्षा गरौं । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्ने अवसरबाट कोही बञ्चित नहोऔं ।