© २०२३
बुटवल, १७ पुस ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदुषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा स्थानीयबासीलाई समस्या भएको छ । मुख्य बजार क्षेत्रमा रहेको उद्योगले उखु क्रसिङ्ग सुरु गरेपछि उडेको खरानी सहितको धुलोको कारण सुनवल बजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ ।
खरानी सहितको धुलोका कारण स्वास्थ्यमा पनि असर गर्न थालेको र वातावरणमा पनि नकारात्मक प्रभाव परेकाले उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानार्कषण गराईएको सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले बताईन् । उद्योगलाई ध्यानाकर्षण गराएपनि कार्यान्वयन नभएकाले आइतबार यस विषयमा उद्योग व्यवस्थापन पक्ष संग छलफल गर्ने तयारी रहेको अर्यालले बताईन् । सुनवबासीलाई उद्योगले समस्यामा पारेको बताउँदै उनले प्रदुषण नहुने गरी सञ्चालन गर्नुपर्ने नगर प्रमुख अर्यालले बताईन् ।
उद्योगको धुलोका कारण हिंडडुल गर्न र कपडा धोएर सुकाउन समेत नपाएको सुनवलबासीले गुनासो गरेका छन् । उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले धुलो नियन्त्रणका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताउँदै केही दिनमै समस्या समाधान हुने आश्वासन दिए । “उपकरण भारतबाट अर्डर गरिसकिएको छ । केही दिनमा आईपुग्छ, त्यसपछि जडान गरेर धुलो नियन्त्रणको काम गरिन्छ”–सुवेदीले भने ।
उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेको छ । जिल्लामा रहेका तीन ठुला चिनी उद्योग मध्ये बाँकी दुईले भने धुलो नियन्त्रणका लागि उपकरण जडान गरेका छन् ।