© २०२३
सल्यान, ५ माघ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री कार्यकालमा स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका रमेश कुमार मल्लले सल्यानबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पूर्व मन्त्री प्रकाश ज्वाला र टेकबहादुर बस्नेत उम्मेदवारी दौडबाट बाहिरिएका छन् ।
लामो समयसम्म चलेको आन्तरिक छलफल र परामर्शपछि पार्टीले मल्ललाई उम्मेदवार बनाउने टुङ्गो लगाएको हो । उम्मेदवार चयनका क्रममा ज्वाला, बस्नेत र मल्लको नाम चर्चामा रहे पनि अन्ततः पार्टी निर्णय मल्लको पक्षमा गएको हो ।
जिल्लाबाट प्रत्यक्षतर्फ पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो । पार्टी बैठकको निर्णयअनुसार धनबहादुर परियार र सीता विष्ट बस्नेतको नामसमेत सिफारिस भएकोमा प्रदेश कमिटीले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश कुमार मल्लको मात्र नाम केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रको निर्णयसँगै ज्वाला र बस्नेत बाहिरिएका छन् ।
युवा नेता मल्ल तत्कालीन माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष हुन् । हाल उनी नेकपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।
प्रकाश ज्वाला सल्यान जिल्लाबाट पटक पटक निर्वाचित हुँदै आएका अनुभवी नेता हुन् । पूर्व सङ्घीय मन्त्री ज्वाला २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य, २०७० मा संविधानसभा सदस्य तथा २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
ज्वाला पूर्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत भइसकेका र हाल दुई पार्टी संयोजन समितिको कार्यदल सदस्यको जिम्मेवारीमा रहेका छन् ।
त्यसै गरी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेत पनि अनुभवी राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी २०७४ मा प्रतिनिधिसभा सदस्य, २०६४ मा पहिलो संविधानसभा सदस्य, २०७० मा दोस्रो संविधानसभा सदस्य तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद सदस्यका रूपमा काम गरिसकेका छन् ।
यसैबिच पार्टीले मल्ललाई उम्मेदवार बनाएको निर्णयप्रति उम्मेदवारीका आकाङ्क्षी रहेका प्रकाश ज्वालाले समर्थन जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्वालाले पार्टीभित्र सिफारिस भएका उम्मेदवारबिचको सहमति, वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई ध्यानमा राख्दै पार्टी संयोजक तथा सहसंयोजकको नेतृत्वमा निर्णय भएको उल्लेख गरेका छन् ।
सो निर्णयअनुसार रमेश मल्ललाई सल्यान जिल्लाबाट पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएको जानकारी दिएका छन् । ज्वालाले यस पटक सल्यानले नयाँ अनुहार र युवा नेताका रूपमा रमेश मल्ललाई उम्मेदवार पाएको उल्लेख गरेका छन् ।
