© २०२३
कतार, ४ माघ ।
मगरहरूको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघ्या सकराटी” भव्य रूपमा मनाइएको छ ।
नेपाल मगर सङ्घ,शाखा कतारले (मिनाम ल्हेस् ५०१९)- २०२६ को अवसरमा शुक्रवार कतारको वकिरमा रहेको मोनार्क ईन्टरनेशनल स्कुलको सभा हलमा “वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको साथमा मनाएको हो ।
विविध सांस्कृतिक कार्यक्रमको रूप रेखा अनुसार औपचारिक र सांस्कृतिक गरेर दुई चरणमा सम्पन्न कार्यक्रममा औपचारिक कार्यक्रम सकिए लगत्तै सांस्कृतिक कार्यक्रम सहजीकरण गर्न उद्घोषक पुरन राजकोटी मगर स्टेज चढेर बृहत् साङ्गीतिक कार्यक्रमको दैलो उघार्न लोक तथा दोहोरी गायक अमर रोका मगरलाई निमन्त्रणा गरे ।
गायक अमर स्टेज पुगेर आफूले कर्म गरेको ठाउँमा प्रस्तुति दिन यहाँ सम्म आउन सहजीकरण गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै आफ्नो साङ्गीतिक प्रस्तुति राख्न सुरु गरे । जल जला पारी, सालैजो, पञ्चेबाजा जस्ता आधा दर्जनमा आफ्ना प्रस्तुति राखे,उनको प्रस्तुतिमा दर्शकहरू मज्जाले झुमेर छमछमी नाचे, वान्च मोर पाइरहे ।
नेपाली कला,संस्कृति र मौलिकताको झल्को मेटाएको हलमा विभिन्न भेषभुषामा सजिएका करिब एक हजार दर्शकहरूको उपस्थितिमा कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेकी चर्चित गायिका प्रीति आले जब स्टेज पुगिन ।
हलको माहौल जुरुक्क उठ्यो,कोलाहल मच्चियो,हुटिङको वर्षा चल्यो। आलेले बामरी, घुम चुमेर पञ्चेबाजा,रोधी घरमा बसेर बास, टुप्पी ठाडो, ब्याटल २ आयो तेरो सर,बाटो खाली गर जस्ता हिट गीतहरू प्रस्तुत गर्दा दर्शकहरू ताली, नाच र नारा सहित कलाकारलाई भरपूर्ण साथ दिइरहेका थिए।
प्रीतिका लोकप्रिय गीतहरूमा दर्शकहरू छम- छम नाच्दै रमाएका थिए भने कार्यक्रम स्थल थप उत्सवमय बनेको थियो। प्रीतिको प्रस्तुति हेर्ने कतारवासी साँच्चिकै उत्साहित बनेको हलले दर्साएको थियो ।
नेपाल मगर सङ्घका अध्यक्ष समीर थापा मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । विधिगत रूपमा उद्घाटन सहित राष्ट्र प्रेम भावले राष्ट्रिय गान अघि बढेको कार्यक्रममा नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले स्वागत नृत्य पेस गरेका थिए ।
कार्यक्रमका सभापति प्रमुख अतिथि,वाङ्ग वाङ्ग राजा,पूर्व अध्यक्ष, तथा विशिष्ट अतिथिहरूलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो ।
बृहत् वनभोज तथा विविध सांस्कृतिक रहित कार्यक्रममा संघमा आबद्ध रहेका कलाकारहरू मगरहरूको परम्परागत भेष भूषामा सजिएर सालै जो, कौराह, सोरठी, झ्याउरे, तथा अन्य संस्कृति झल्काउने एकल तथा सामूहिक नृत्य पस्केका थिए । विशिष्ट व्यक्तित्व,अतिथि कलाकारलाई सम्मान गरिएको थियो ।
बृहत् सांस्कृतिक कार्यक्रममा गुल्मी सेवा समाज कतारले नेपाली मौलिक लोकनृत्य सोरठीको विशेष आकर्षक प्रस्तुति पस्केको थियो ।
आधुनिक मनोरञ्जनका बिच हराउँदै जान थालेको सोरठी नृत्यले कार्यक्रममा उपस्थित दर्शकको मन जितेको थियो।जनजाति समुदायको परम्परा अनुसार नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध रहेका विभिन्न मातृ संस्थाहरूले एक अर्कामा सद्भाव प्रकट गर्दै नेपाल मगर सङ्घ शाखा कतारलाई सगुन स्वरूप (कोसेली) उपहार प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक तथा सङ्घकी वरिष्ठ उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मगरहरूको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” विगतका वर्षहरूमा भन्दा यो वर्ष अत्यन्तै अनुशासन,र सभ्यताका साथ उत्कृष्ट कार्यक्रम गर्न सफल भएको भन्दै प्रशंसा सहित धन्यवाद व्यक्त गरे ।
राष्ट्रिय चाड “माघ्या सकराटीको बारेमा सङ्घका सल्लाहकार सदस्य विवेक पुलामी मगरले प्रस्ट पारेको कार्यक्रमलाई समापन गर्दै सभापति थापा मगरले मगरहरूको राष्ट्रिय सांस्कृतिक चाडलाई विभिन्न कोणबाट साथ सहयोग पुर्याउने सबैलाई एक मुष्ठमा कृतज्ञता प्रकट गरे ।
समाजका महासचिव पान्डव थापा मगर र उपाध्यक्ष रबिना मगरले मिलेर सहजीकरण गरेको कार्यक्रमको सुरुवात देखि अन्त्य सम्म दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल मगर सङ्घ शाखा कतारले मगरहरूको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” हरेक वर्ष धूमधामका साथ मनाउँदै आइरहेको छ ।

