© २०२३
औपचारिकतामै सीमित भए पनि नेपालमा दिवस मनाउने परम्परामा कमी होइन, बरु झनै बढिरहेको छ ।
त्यसैको एउटा शृङ्खला बिहीबार मनाइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस हो । यो दिवस मनाई रहँदा दिवसको बारेमा जसलाई ज्ञान दिनुपर्ने हो, त्यो वर्ग चाहिँ बाहिरै रह्यो ।
राजधानी र प्रदेशका तारे होटलमा दिवस मनाउने प्रचलनले दूर दराजका नागरिकले भूकम्प सुरक्षा दिवस बारे कसरी थाहा पाउने ? भूकम्प आईहाले जोगिने उपायका विषयमा समेत जानकारी नहुँदा भूकम्प पूर्व तयारीको कुरा पनि औपचारिकतामै सीमित छ ।
त्यसै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो । त्यसो त हरेक दिन जसो नेपालमा भूकम्पको धक्का महसुस भइरहेको छ । सानो भूकम्प गई रहँदा ठुलो भूकम्पको खतरा उत्तिकै छ । तसर्थ भूकम्पको जोखिमबाट बच्न जुन क्षेत्रमा भूकम्पको चुनौती छ, त्यस क्षेत्रका जनतामाझ जनचेतनाका कार्यक्रम लैजानु जरुरी छ ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा ठुलो भूकम्प जाने गरेको छ । नेपालले पछिल्लो पटक आजभन्दा १० बर्षअघि २०७२ साल बैशाख १२ गते ठुलो विपत्तीको सामना गर्नुप¥यो ।
त्यसअघि वि.सं. १९९० सालमा आजकै दिन अर्थात् माघ २ गते नेपालमा ठुलो भूकम्प गएको थियो । ९० सालको भूकम्प इतिहास भैसकेको छ । त्यो घटनाका साक्षीहरू एकाधमात्रै अहिले जीवित छन् । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाई रहँदा विगतका भूकम्पले पारेको क्षतिको स्मरण गर्नु र त्यसबाट पाठ सिक्नु जरुरी छ । दिवस मनाउँदै गर्दा हरेक दिन भूकम्पको धक्का महसुस भइरहेको छ ।
लगातार गैरहेको पराकम्पले ठुलो क्षति गरेको छैन तर बैज्ञानिकहरूले पश्चिम नेपालमा ठुलो भूकम्पको संभावना रहेको भन्दै सतर्क गराईरहेकोले भूकम्पको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक छ । खासगरि २०७२ सालमा गएको भूकम्पबाट पाठ सिकेर पछिल्लोसमय भवन निर्माण मापदण्ड पालना गर्ने प्रचलन बढेको छ ।
पालिकाहरूले पनि पछिल्लोसमय भूकम्प प्रतिरोधी घर निर्माणको काममा जोड दिएका छन् । तर, पनि जोखिम अझै कायमै छ । यद्यपि ठुलो भूकम्प गएको अवस्थामा भूकम्पविरोधी घरले समेत धान्न नसक्ने अवस्था आउन सक्छ ।
त्यो बेला के गर्ने ? यो विषयमा पनि अव तिनै तहका सरकारले ध्यान पु¥याउनु आवश्यक छ । अवको दिनमा भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा आम नेपाली नागरिकलाई भूकम्पबाट बच्ने विषयमा सचेत वनाउनुपर्ने खाँचो छ ।
एकपटक भूकम्पको सुरक्षाका विषयमा गंभीररूपमा बहस गर्नुपर्ने संघारमा मुलुक आईपुगेको छ । भूकम्प आईहालेमा त्यसबाट बच्ने उपाय र आधारका रूपमा हामीसंग सशक्त पूर्वाधार छैन । भूकम्पको चुनौतिकै कुरा गर्दा अहिलेपनि नेपाल उच्च चुनौतिको माझमा छ ।
तसर्थ यस क्षेत्रका जनताले भूकम्पीय सुरक्षाका सवै संयन्त्र प्रयोग गर्नु जरुरी छ । भूकम्प कहिले आउँछ भन्ने कुनै निश्चित नभएपनि त्यसबाट जोगिनको लागि पूर्व सचेतना आवश्यक रहेकोमा भने भूकम्पवीदहरूले सचेत गराएका छन् ।
२०७२ पछि २०७९ सालमा जाजरकोट र पूर्वी रुकुम क्षेत्रमा गएको भूकम्पमा परि ठूलै भौतिक क्षति भएको थियो । त्यसको पीडा अझैपनि त्यस क्षेत्रको जनताले भोगिरहेका छन् । त्यसयता पनि सयौंपटक भूकम्प गईसकेको छ । सानो भूकम्प गई रहँदा ठुलो भूकम्प कतिखेर जाने हो कुनै निश्चित छैन् । भूकम्पको इतिबृत्तान्तको विवरणसंगै आगामी दिनमा भूकम्पको सुरक्षातर्फ ध्यान दिनु जरुरी छ ।
एक बर्षमा एकपटक मनाईने भूकम्प सुरक्षा दिवस अव केवल औपचारिक मात्रै नबनोस् । अवको दिनमा पूर्व तयारी स्वरूप भूकम्पको जोखिमबाट बच्ने उपाय र उद्धारका सामाग्रीहरूको व्यवस्थापन गर्ने विषयमा ध्यान पुग्नुपर्दछ । भूकम्पबाट बच्न भूकम्प प्रतिरोधी घर निर्माणमा जोड दिनु त्यत्तिकै आवश्यक छ ।