© २०२३
सुनवल, ४ माघ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे (घरवास) निर्माण सुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारको स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी कार्यक्रम र रामग्राम नगरपालिकाको सहकार्यमा होम स्टे निर्माण सुरु भएको हो । रामग्राम –१४ मा रहेको हडहिया पोखरीको सौन्दर्यीकरण गरेर पर्सावल गाउँमा होमस्टे सञ्चालन हुने छ । जसका लागि शनिबारबाट सांस्कृतिक भवन निर्माण थालिएको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पर्सावलमा सांस्कृतिक भवन निर्माणको भूमि पुजन गरेर शिलान्यास गरे ।
स्थानीय खानाका परिकार र थारु कला संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीयको आर्थिक उपार्जनका लागि होम स्टे सञ्चालन गर्न लागिएको उनको भनाइ छ । थारु, मगर लगायत आदिवासी जनजातिको बाहुल्य क्षेत्र भएकाले स्थानीय कला संस्कृतिको संरक्षण गर्दै प्राकृतिक पोखरीलाई सौन्दर्यीकरण गरेर स्थानीय जनताको आर्थिक विकासको माध्यम बनाउन होम स्टे निर्माण थालिएको यादवको भनाइ छ ।
स्थानीयको साथ सहयोगले मात्रै होम स्टे निर्माण पूरा भएर सञ्चालनमा आउने बताउँदै होमस्टेको योजना कुनै हालतमा पूरा हुने भन्दै नगर प्रमुख यादवले यसमा शङ्का नगर्न स्थानीयलाई आग्रह गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्थानीय शासन सबलीकरण कार्यक्रममा व्यवस्था रहेको नवप्रवर्तन साझेदारी कोषको माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह लगानीमा नवीनतम परियोजनाहरू सञ्चालन गरी नवप्रवर्तनलाई संस्थागत गर्न होम स्टे निर्माण थालिएको जनाइएको छ ।
रामग्राम नगरपालिका र प्रदेश सरकारको साझेदारीमा दुई करोडको लागतमा उक्त होम स्टे निर्माण हुने नगरपालिकाका रोजगार संयोजक सुमन ज्ञवालीले जानकारी दिए । सो स्थानमा सांस्कृतिक घर, प्राकृतिक पोखरीको सौन्दर्यीकरण तथा संरक्षण, स्थानीयलाई आयआर्जन र स्थानीय उत्पादन अभिवृद्धि सम्बन्धी तालिम पनि सञ्चालन गरिने छ ।
स्थानीय उत्पादनलाई प्रयोग गरेर होमस्टे सञ्चालन गर्ने र विशेषगरि महिलाहरूलाई आयआर्जनको माध्यम बनाउने योजना रहेको नगर प्रमुख यादवले बताए । स्थानीय होमस्टे उपभोक्ता समितिका अध्यक्ष दिपक प्रसाद चौधरीले होम स्टे निर्माण सुरु भए पनि स्थानीयमा खुसी छाएको बताउँदै रोजगारीको अभावमा भौँतारिरहेका युवाहरू समेत उत्साहित भएको बताए ।
गत जेठ महिनामा होम स्टे निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौता भएको थियो ।