© २०२३
विषय प्रवेश
माघी पर्व एवं माघे सकराती नेपालका सम्पूर्ण आदिवासी समुदायहरुको आफ्नै मौलक र ऐतिहासिक राष्ट्रिय पर्व मानिन्छ । यो पर्व नेपालका सम्पूर्ण आदिवासी जनजाति समुदायको साझा प्रकृतिपूजक राष्ट्रिय पर्वको रुपमा स्थापित भए तापनि आज नेपालका सबै जाति, भाषा, क्षेत्रका जनसमुदायले आ–आफ्नै शैलीमा यो माघी पर्व एवं माघे सकराती मनाउँदै आईरहेका छन् ।
माघी पर्व एवं माघे सकराती पहाडमा मगर समुदाय र तराईमा थारु समुदायको मौलिक ऐतिहासिक राष्ट्रिय पर्व हुँदाहुदै पनि आज अरु जाति, भाषा र क्षेत्रका समुदायहरु समेतले किन र कसरी मनाउदै आइरहेका छन् ? यसको ऐतिहासिक र सास्कृतिक प्रभाव नेपाली समाजको समाज विकासक्रमको ईतिहासमा किन र कसरी पर्दै गइरहेको छ, यसको ऐतिहासिक महत्वबारे आवश्यक चर्चा गर्न सान्दर्भिक ठान्दछु ।
माघी पर्व एवं माघे सकरातीबारे
माघी पर्व एवं माघे सकराती समाज विकासक्रमको ईतिहासका चरणहरु मध्ये आदिम साम्यवादी चरण देखि नै चलेको देखिन्छ, मानव जातिको आफ्नो विकासक्रमसंगै आर्थिक र सांस्कृतिक जीवनको व्यवस्थापन पनि संगै जोडिएर आएको देखिन्छ ।
मानवजातिको आफ्नो शिकारी जीवनशैली देखि कृषि जीवनसँग प्रत्यक्ष रुपमा आर्थिक र सांस्कृतिक जीवनशैली जोडिएर आएको देखिन्छ । आज माघे सकराती पर्व मगर समुदायको वस्ती पहाडमा धनुष वाणसंगै जोडिएर आएकोले आज पनि मगरहरु धनुष–वाण खेल खेल्छन् ।
आफ्नो उत्पादनको स्रोत वनको कन्दमुल खाएर बाँचेको मगर समुदायहरु आज पनि माघे सकरातीमा वनजङ्गलमा खनेर ल्याएको तरुल आज पनि प्रयोगमा आइरहेका छन् । ठीक आज एक हप्तासम्म मनाउने माघी पर्वमा तराईमा थारु समुदायको आर्थिक र सांस्कृतिक जीवनशैलीको आधार उत्पादनको स्रोत नदीनाला र खोला–खेतका माछा र तराईका मैदानी खेतका घोंगीका परिकारहरु आज पनि निरन्तर प्रयोगमा ल्याइरहेको देखिन्छ ।
यति मात्र हैन नेपालका सबै आदिवासी जनजाति समुदायहरु हिमाल पहाड र तराइ लगायत विभिन्न स्थानमा माघे सकराती पर्वलाई आ–आफ्नै शैली र रुपमा मनाइरहेको हामी पाउँदछौं । यति मात्र हैन आजका खसआर्य हिजोका बाहुन क्षेत्री समुदायमा पनि यो माघे सकरातीलाई आफ्नो सामाजिक पर्वको रुपमा निरन्तर मनाउदै र आत्मसात गर्दै आइरहेको देखिन्छ । यसर्थ माघी पर्व एवं माघे सकराती मगर र थारु समुदायको मात्र राष्ट्रिय पर्व नभै नेपाल राष्ट्रकै राष्ट्रिय पर्व मानिन्छ ।
नेपालको पहाडी भेगमा बनेको मिश्रित वस्तीहरुमा त एउटा समुदायमा प्रचलित पर्व अर्को समुदायले सहजै मान्दै र मनाउदै आएको देखिन्छ । जस्तैः माघे सकरातीमा खिचडी खाने, तरुल खाने, आफ्नो चेलीहरुलाई निर्सो बाँड्ने, परपाहुना बोलाएर भेटघाट र खानपिन गर्ने र युवाहरु खुलामैदान वा खाली बारीमा सामुहिक रुपमा धनुकाँध खेल्ने एवं तारा हान्ने, प्रचलन पहाडमा आजसम्म बागलुङ्ग रोल्पा र रुकुमतिर व्यापक र सर्वव्यापी प्रचलनमा रहदै आएको छ ।
जस्तैः भेरी, राप्ती, लुम्बिनी र गण्डकीका मगर वस्तीहरुमा सामुहिक रुपमा धनुकाँध खेल्ने, खिचडी र तरुल खाने प्रचलन अध्यावधि रहेको छ, भने तराईका थारु वस्तीहरुमा माघी पर्वमाः खेतीपातीमा सिंचाईको कुलाई अगुवा चुन्ने, घरमा नयाँ मुली चुन्ने बडघर प्रथा प्रचलन आजसम्म अध्यावधि रहदै आएको छ, जसलाई नयाँ वर्ष पनि भनिन्छ । यति मात्र हैन यो माधे सकराती पहाडका सबै जाति भाषा र क्षेत्रका समुदाय माझ व्यापक प्रचलनमा रहेको छ ।
यसर्थ माघी पर्व एवं माघे सकराती मगर र थारु समुदाय लगायत सबै जाति भाषा र क्षेत्रका समुदाय माझ साझा पर्वको रुपमा मनाउनु नेपाली समाजमा एउटा समुदायको पहिचान र स्वाभिमानलाई अर्को समुदायले सहर्ष रुपमा मान्नु, स्वीकार गर्नु र सम्मान गर्नु मानव जातिको साझा सभ्यताको निर्माण र विकास गर्नु नै हो ।
साँच्चै वास्तविक नेपाली जनताको विचार र भावना निश्छल र पवित्र रहेको छ, कुनै दम्भ र अहंकार विना एउटा मानव जातिले अर्को मानव जातिलाई सम्मान गर्नु र असल सदभाव राख्नु नै असल सभ्याताको पहिचान नै हो, यो नै नेपाली समाजको स्वाभिमानी विचार हो र ईमान्दारी व्यवहार एवं भावना हो ।
नेपाली समाजको सभ्यता
नेपाली समाजमा समयंता र धैर्यता, हार्दिकता र विश्वसनीयता, बीरता र स्वाधिनता, समानता र सम्मानता निकै प्रचलित र स्थापित मुल्य र मान्यता हुन् । जुन ऐतिहासिक र दूरगामी महत्वका अमुल्य विचार र भावना एवं सभ्यता र संस्कृति हुन, जसले नेपाली समाजलाई विश्व सामु आफ्नो शिर ठाडो पारेर गर्वका साथ बाँच्न र बचाउन सिकाएका थिए र छन् ।
अपशोच ! हाम्रो नेपाली समाजमा आज संयमता र धैर्यताको ठाउँमा अहंकार र अधैर्यता, हार्दिकता र विश्वसनीयताको ठाउँमा दुष्तता र अविश्वसनीयता, वीरता र स्वाधिनताको ठाउँमा कायरता र पराधिनता, समान र सम्मानको ठाउँमा असमान र अपमान जस्ता अराजक र अटेरी नकारात्मक र निषेधात्मक विचार र भावना बढी रहेका छन्, जुन नेपाली समाजको लागि दुर्भाग्य र दुर्दशााको जटिल अवस्था हो ।
सन्दर्भ : नेपाली समाजमा स्थापित सामाजिक सदभाव र समानताको संस्कृतिको आधार नेपाली समाजको स्वाभिमानी विचार र ईमानदार व्यवहार नै हो, यसको मुख्य स्रोत नेपाली धर्तीका वास्तविक धर्तीपुत्र आदिवासी समुदायहरु विशेषतः पहाडका मगर र तराईका थारु समुदाय नै हुन् ।
किनकी तराईका थारु र पहाडका मगर समुदायमा सामुहिक संस्कति हुन्छ, सामुहिक संस्कार र सामुहिक श्रमबाट सामुहिक आर्थिक र सामाजिक जीवनशैलीको विकास हुन्छ, यसै सामुहिक आर्थिक र सामाजिक जीवनशैलीबाट ती समुदाय माझ सामुहिक विचार र सामुहिक भावनाको पैदा हुन्छ । यसै सामुहिक विचार र भावनाले नै समाजमा सामाजिक सदभाव र सामाजिक एकता पैदा हुन्छ ।
मगर र थारु समुदायको सामुहिक आर्थिक र सामाजिक जीवनशैली बाट पैदा भएको सामुहिक विचार र भावना नै ऐतिहासिक रुपमा आज नेपाली समाजको सामाजिक सदभाव र राष्ट्रिय एकताको आधार बन्दै आएको छ ।
यसै आधारमा भन्न सकिन्छ, सामाजिक सदभाव र राष्ट्रिय एकता पैदा गर्न हरेक समुदायको सामुहिक आर्थिक र सामाजिक जीवनशैलीबाट पैदा हुने सामुहिक विचार र सामुहिक भावनाले नै देशमा राष्ट्रिय एकताको भावनाको जन्म र विकास हुन्छ, सबै नेपालीमा यसैगरी सामुहिक आर्थिक र सामाजिक जीवनशैलीबाट पैदा हुने सामुहिक विचार र सामुहिक भावनाबाट नै नेपालको राष्ट्रिय एकता र स्वाधिनताको स्वाभिमानी विचारको जन्म र विकास हुन्छ ।
यस कारण भन्न सकिन्छ कि नेपाली समाजको सामाजिक एकता र सांस्कृतिक सदभावको आधार यिनै ऐतिहासिक रुपमा नेपाली धर्तीपुत्र आदिवासी समुदायहरु, विशेषतः पहाडका मगर समुदाय र तराईका थारु समुदाय नै मानिन्छन् । नेपाली समाजमा एउटा प्रचलित भनाई नै छ– पहाडका मगर जाति र तराईका थारु जाति ईमान र जमानका धनी हुन्, उनीहरुसंग धन सानो भएनी मन ठूलो हुन्छ ।
यहाँ यो पनि भन्न सकिन्छ कि आजको नेपाली समाजको विशेषता सामुहिक जीवनशैली भन्दा नीजि जीवनशैली प्रति मानिसको आकर्षण बढदै गईरहेको छ । हो, किनकी नेपाली समाज आज मानव समाज विकासक्रमको चरणसंगै आदिम साम्यवादी चरण हुँदै सामन्तवादी चरणबाट पूँजीवादी चरणतर्फ अगाडि बढिरहेको छ, यो समाज विकासक्रमको सामान्य नियम हो ।
अर्को भाषामा भन्नुपर्दा मान्छेको आर्थिक जीवनचक्र जङ्गलको शिकारी जीवनबाट गाउँको कृषि एवं पशुपालन जीवन हुँदै शहरको व्यापारिक बजारको जीवनतर्फ नेपाली आर्थिक जीवनशैली रफ्तारमा अगाडि बढदैछ ।
जस्तैः हिजो घरको एउटै अगेनाको वरिपरी सामुहिक रुपमै बस्ने, खाने र सुत्ने ठूलो परिवारका सदस्यहरु आज भान्सा कोठामा खाने, आगोमा हैन ग्यांसमा पकाउने, र आ–आफ्ना अलग कोठामा बस्ने र सुत्ने प्रचलन बढदो छ शहर देखि गाउँघरसम्म विस्तारको क्रममा छ, यो विकासे जीवनशैली आज । यसले मान्छेको पारिवारिक संरचना मात्र हैन उनीहरुको सोंचाई र भोगाईको सोंच, संरचना र संस्कारमै असर पर्दै गइरहेको देखिन्छ ।
नेपाली समाज विकासक्रमसंगै हिजोको सामुहिक जीवन पद्धतिले पैदा गर्ने सामुहिक विचार र सामुहिक भावनालाई आजको नीजि जीवन पद्धतिले पैदा गर्ने नीजि विचार र नीजि भावनाले क्रमशः खण्डित गर्दैछ । अब यसलाई कसरी बुझ्ने र कुन दृष्टिकोणबाट हेर्ने ! विषय निकै गहिरो र गम्भीर देखिन्छ ।
यहाँ एउटा प्रशिद्ध भौतिकवादी दार्शनिक भनाई छ –मानिसको चेतनाले उसको भौतिक परिवेश निर्धारण गर्दैन अपितु उसको भौतिक परिवेशले मानिसको चेतना निर्धारण गर्छ । हो, नेपाल र नेपाली समाज नेपाली समुदायहरुको चेतना निर्माण गर्ने भौतिक परिवेश हो, यहाँको भौतिक परिवेशले नै नेपाली मानव समुदायको चेतना निर्धारण गर्दछ ।
भौतिक परिवेश भित्र यहाँको भू–बनोट, सामाजिक बनोट र विशेषता, जनसाख्यिक बसोवासको स्वरुप र संरचना, सांस्कृतिक मनोविज्ञान र विभिन्न जाति, भाषा, धर्म र क्षेत्रका आम नेपाली समुदायको आफ्नै मौलिक सांस्कृतिक मुल्य र मान्यता नै नेपाली समाजको वास्तविक भौतिक परिवेश हो ।
जुन भू–भाग र समाजमा राज्यव्यवस्थाको पहुँच र प्रतिनिधित्व पुगेको हुँदैन, त्यो भूभाग र समाजको सामाजिक सभ्यता र सामाजिक आर्थिक जीवन पद्धति ऐतिहासिक रुपमै सामुहिकतामा आधारित हुन्छ । किनकी त्यहाँ हरेक मानिसहरु बाँच्नकै लागि पनि सहाराको रुपमा सामाजिक विकास र प्रगति आपसमा सबै मिलेर काम गर्दछन् ।
राज्यको आभास नै नपाएका ग्रामिण जनसमुदायहरु हरेकले सामुहिक आर्थिक जीवन पद्धतिमा विश्वास गर्दछन् र सामुहिक रुपमा मेलापात जाने र खेतीपाती गर्ने, सामुहिक रुपमा घर बनाउने र विकास निर्माण गर्ने काम समेत झाराको माध्यमबाट बाटो, विद्यालय र खानेपानी पनि गाउँका सामाजसेवी गाउँका अगुवाहरुको अगुवाईमा सामुहिक रुपमा सम्पन्न गर्दछन् ।
सबै काम समाजमा समूूहबाटै समाधान हुने विश्वाससंगै सबैमा सामूहिक विचार र भावनाको जन्म र विकास हुन्छ ।
यसरी सिंगो समाज नै सामुहिक जीवन पद्धतिमा चल्ने भएकाले सामाजिक र सांस्कतिक सभ्यता नै सामुहिक हुन्छ । यो सामुहिक सभ्यता र सामुहिक संस्कृति नेपाली समाजका दूरदराज र दुर्गम वस्तीहरुमा वस्ने आम सर्वशाधारण नेपालीहरुको जीवनपद्धति नै बनिसकेको हुन्छ ।
यहीं सामुहिक सभ्यता र सामुहिक जीवनपद्धति सहितको सामुहिक विचार र भावनाका स्रोत पहाडका मगर समुदाय र तराईका थारु समुदायका वस्तीहरु जहाँ आजसम्म पनि राज्यको पहुँच सिधा नपुगेका दुरदराजको दुर्गम वस्तीमा रहने मगर र थारु समुदायका ठूला र एकल वस्तीहरुमा यो सामुहिक सभ्यता एवं सामुहिक जीवन पद्धति आज पनि रहिरहेको पाउँदछौं ।
विकासको बाछितासम्म नपुगेका दूरदराजका दुर्गम वस्तीहरु आज पनि सामुहिक जीवन पद्धतिमा विश्वास गर्दछन् । विकासको बाछिता परेका गाउँवस्तीहरुमा भने यो सभ्यतामा असर पर्दै गइरहेको देखिन्छ ।
नेपाली समाजको समस्या
खासगरी पछिल्लो समयमा ग्रामिण क्षेत्रमा राजनीतिक पार्टीको प्रभाव र प्रचारका कारण गाउँका सिधा र ईमानदार श्रमीक जनसमुदायहरुलाई भोट हाल्ने र पार्टीमा लाग्ने कुरा सिकाएको कारण गाउँवस्तीका जनताका सामुहिक संस्कार र सभ्यताहरु क्रमशः भत्किदै गाउँहरु क्रमशः विभाजित हुँदै गईरहेको देखिन्छ, जुन दःखद र दूरगामी असरको विषय हो ।
यसको साथै नेपाली दूरदराजका ग्रामिण अविकसित र अशिक्षित वस्तीहरुमा आइएनजिओ र एनजिओहरुको प्रवेशले गाउँमा आज शिक्षाको सकारात्मक भन्दा नकारात्मक प्रभाव, विकास र विस्तारका कारण ग्रामिण वस्तीका मेहनती र स्वाभिमानी समाजका श्रमजीवि युवाहरुलाई आज माटो र मलको पाखे जीवनको निर्वाहमुखी खेतीबाट भन्दा विदेश जाने र सुकिलो र सुखी जीवन संगै एकै पटक धेरै सम्पत्ती कमाउने भ्रमपूण सपना बाँडेर र सुन्दर गाउँको खेतीबारीको वास्तविक भविष्य भन्दा कुरुप शहरको काल्पनिक भविष्य देखाएर गाउँका सचेत र सक्रिय युवाहरु आज गाउँवस्तीमा बस्नै नहुने अवस्था सिर्जना भैरहेको छ ।
यो नेपाली समाजको आजको खत्तरनाक रोग बन्दैछ, किनकी वास्तविक जीवनबाट मानिसहरु आज काल्पनिक जीवन तर्फ धकेलिंदैछ । अचम्मैको विषय त के हो भने, आफू जन्मेको थातथलोलाई खराब सावित गरेर अरु जन्मेको थलोलाई सहि सावित गर्ने यो कुन चेतना हो ! कस्तो देशभक्तिपूण विचार हो यो !?
आफ्नै जन्मभूमी नेपाललाई खराब सावित गर्दै विदेशीको जन्मभूमी कथित विकसित भनिने अमेरिका र युरोपलाई सहि सावित गर्नखोज्नु कुन बौद्धिकता हो ! के नेपालको शिक्षानीति र शिक्षा ऐनले यस्तै मुर्ख चेतना र दलाल शिक्षा दिन खोजेकै हो ? के नेपालको शिक्षा प्रणाली र अमेरिकी शिक्षा प्रणालीको उदेश्य एउटै हो जो नेपालको रुपमा अमेरिका बनाउन खोजेकै हो ?!
आज ३ करोड अमेरिकी गरिबहरु भोकभोकै र नाङ्गै बाँच्न विवस भएको तथ्य के नेपाली युवाहरुलाई थाहै छैन त ? युक्रेनमा मारिने सुनिश्चित हुँदाहुँदै किन नेपाली युवाहरु जीवन नै दाउमा राखेर रुसी सेनामा भर्ति हुन लाइन लागेर भारतको दिल्ली उडिरहेका छन् ? के हामीले आफै आत्मसमिक्षा गर्ने बेला भएन र ! हाम्रो देशभक्तिपूर्ण विचार र भावना किन र कसरी यति छिटै डलर र रुवलमा बिक्रि हुन पुग्यो ? हामी गम्भीर बनौं ।
नेपाली समाजको भविष्य
नेपाली समाजको ऐतिहासिक विरासत सम्मानपूर्ण सामुहिक संस्कृति, समानतापूर्ण संस्कार र सभ्यता, सहयोगी भावना र निश्छल मन सहितको नेपाली स्वाभिमानी आत्मनिर्भर जीवनपद्धतिको देशभक्तिपूर्ण विरासत ढल्दैछ किन ! ढाल्दैछौं कसरी !? नेपालका आफुलाई स्वघोषित राजनेता र कुशल प्रशासक, बौद्धिक र विश्लेषक, न्याधिश एवं न्यायमूति, धार्मीक र जगतगुरु, समाजसेवी र कल्याणकारी भनाउदाहरुले यो विषयलाई बुझ्न र बुझाउन नसकेका हुन् या नचाहेका हुन् ?!
यति सम्म गैरजिम्मेवार काम स्वाभिमानी नेपाली र समानतापूर्ण र सभ्य नेपाली समाजका अगुवाहरुले गर्छन् भन्ने त कल्पनै गर्न सकिदैन ! कुनै पनि राजनीतिक पार्टीको निर्माण असल नियत बाटै हुन्छ होला भन्ने सोचौं ! कुनै पनि शिक्षित र प्रवुद्ध वर्ग समाज बिगार्छु भनेर कसैले सोंच्दैन होला भनेर बुझौं !
कुनै पनि देशको शासक जानी बुझी तानाशाह र क्रुर हुन्छु भनेर सत्तामा पुग्दैन होला भनेर कल्पना गरौं ! कुनै पनि राजनीतिक नेता कार्यकर्ताहरु र सरकारका निजामति सेवाका राष्ट्रसेवकहरु योजनाबद्ध देशलाई टाट पल्टाउन भनेरै भ्रष्ट नीति, विचार र योजना बोकेर सरकारको नेत्तृत्व र प्रशासनिक कामकाजमा प्रवेश गर्दैनन् होला भनेर विचार गरौं ! सारमा भन्नु पर्दा नेपालको भौतिक परिवेशले नेपालीहरुको चेतना निर्धारण गर्दछ ।
माथि उल्लेख गरिएका यति धेरै सकारात्मक सोंच विचार सहितको अनुमान र अडकल गर्दा देश कसरी नबन्ला र ! समाज कसरी अराजक र उच्छृङखल सभ्यता र संस्कृतितिर मोडिएला र !! मगर र थारु जातिको पहिचान नै ईमान र जमान हो भन्छन् हाम्रा पुर्खाहरुले !
नेपालीहरुको पहिचान नै स्वाभिमान र साहस हो भन्ने त हामी आफैले जान्दै र बुझ्दै आइरहेका हैनौ र !? जसरी थारु र मगर समुदायको राष्ट्रिय पर्व माघी पर्व एवं माघे सकराती सबै नेपालीहरुको साझा राष्ट्रिय पर्व बन्न सफल भयो, ठीक त्यसरी नै थारु र मगर समुदायको ऐतिहासिक विचार सामुहिक र आत्मनिर्भर आर्थीक सामाजिक जीवन पद्धति र समानताको संस्कार र संस्कृति किन साझा बन्न सकेन र सक्दैन !
एक पटक हामी नेपाल आमाको माटो हातमा लिएर हाम्रो गौरवपूर्ण नेपाली सभ्यतालाई सम्झौं ! अबको हामी नेपालीहरुको भविष्य नेपालीहरुकै हातमा छ । सच्चा नेपाली बन्न आँट र साहस गरौं !! किनकी नेपाल आधुनिकता र विकासको नाममा आज नेपाल र नेपालीको पहिचान नै मेटिने गरी गलत, अराजक र उच्छृङखल दिशामा हुँइकीरहेको छ, विदेशी शक्तिराष्ट्रको प्रभावमा मात्र हैन नियन्त्रणमा समेत पर्ने खत्तरा बढदैछ । असल र स्वाभिमानी मानिसहरु माथी अपमान र अबहेलना बढदैछ, खराब र दलाल मानिसहरु समाज र सत्तामा हाबी हुने खत्तरा बढदैछ ।
यस कारण हामी नेपालीहरु बैमान हैन ईमान बनौं ! दलाल हैन स्वाभिमानी बनौं !! नेपालका आदिवासी समुदाय विशेष गरी पहाडका मगर, गरुङ, तामाङ, राई लिम्बु र नेवार थकालीबाट सामुहिक सामाजिक र आर्थिक जीवन पद्धति आत्मसात गरौं !! नेपाल र नेपालीको वास्तविक पहिचान नेपालका सम्पूर्ण गरिब तर साभिमानी श्रमजीवि जनता जस्तै व्यापारी, नेता र प्रशासकहरु पनि देशभक्त, स्वाभिमानी, परिश्रमी र ईमानदार बनौं !!!
हामी सबै अरुको राम्रो तर नक्कली जीवन देखेर लोभी नबनौ ! आफ्नो भर आफै पर्ने र आफैमा विश्वास गर्र्ने वास्तविक नेपाली बन्ने आँट गरौं !! अमेरिका र युरोपको काल्पनिक र कष्टकर जीवनलाई सुखी देख्ने र बुझ्ने हाम्रो लोभी मन भन्दा नेपालको डाँडापाखा पखेरा र तराईका सुन्दर हरियाली फाँटका खेतबारीमा पसिना बगाउँदै आफ्नो जीवनलाई सुखी देख्ने र बुझ्ने हाम्रो मन बढी पवित्र, सुखमय र सन्तुष्ट हुन्छ, यहीँ हो सच्चा नेपाली मन, जो सागसिस्नो र भरनाको पानी पिएर पनि सदा सर्वदा सन्तुष्ट हुनसक्छ, हाम्रो सन्तुष्टि नै हाम्रो सुख हो भनेर बुझ्न सक्छ ।