Butwal Today

उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने

३ माघ २०८२, शनिबार
अ+
अ-

सल्यान, ३ माघ ।

सदरमुकाम खलङ्गा स्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचन सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।

प्रतिनिधिसभाको लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सल्यानको लागि शुक्रबार एक कार्यक्रमकाबीच कार्यालयको  उद्घाटन गरिएको हो । मुख्य निर्वाचन अधिकृतको रूपमा सल्यान जिल्ला अदालतका न्यायाधीश प्रह्लाद योगी रहेका छन् ।

अब निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोही अनुसार काम अगाडि बढाइने मुख्य निर्वाचन अधिकृत योगीले बताए । उनका अनुसार कार्यालयमा सहायक निर्वाचन अधिकृतसहित सात जना कर्मचारी खटाइएको छ भने निर्वाचन कार्यालयसँग समन्वय गरेर काम गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत योगीले आयोगको निर्देशन बमोजिम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा कुल एक लाख ६२ हजार ४४८ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार कुल मतदाता मध्ये पुरुष मतदाता ८३ हजार ३२१ जना र महिला मतदाता ७९ हजार १२८ जना रहेका छन् ।

जम्मा मतदान स्थल ११७ र मतदान केन्द्र २०५ रहेको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?