© २०२३
अर्घाखाँची, २ माघ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधि सभाको लागि १ वटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीको लागि अर्घाखाँची जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश शिवलाल पाण्डे रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली सेनाका सेनानी रिकी पाण्डे, सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहाल, प्रहरी नायव उपरीक्षक दिवस जिसी, अनुसन्धान अधिकृत छविलाल पौडेल, जिल्ला निर्वाचन अधिकृत बुद्ध प्रकाश पौडेल लगायतको उपस्थित रहेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले भय रहित, निष्पक्ष, धाँधली रहित रूपमा शान्ति पूर्वक वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नु पर्ने बताए । उनले केन्द्रीय निर्वाचन तालिका अनुसार आफूहरू अगाडी बढेको जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्ध प्रकाश पौडेलले बताए । जसमा पुरुष ८७ हजार १ सय ५७ जना र महिला ८४ हजार ४ सय ९५ जना रहेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मतदातालाई सजिलो बनाउन अप्ठ्यारो भूगोल भएका स्थानहरूमा स्थलगत रूपमा अवलोकन गरेर पहिलाका निर्वाचन भन्दा ५ वटा मतदान स्थल र ७ वटा मतदान केन्द्र थप गरिएको जानकारी दिए ।
उनले मतदान स्थल तथा केन्द्रहरूमा शान्ति सुरक्षा प्रदान गर्न जल्ला स्तरीय सुरक्षा समितिले अनुगमन गरिरहेको जानकारी दिए ।