© २०२३
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन २०८२ को तयारीका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
दाङ जिल्ला अदालत परिसरमा दाङ क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले निर्वाचनमा मतदान देखि मत परिणाम नआउँदासम्म निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे ।
राजनीति दल , नागरिक समाज , सञ्चारकर्मी लगायत सबै नागरिकले सहयोग गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले तीन चरणको सुरक्षा तयारीमा रहेको बताए ।उनले भने,गस्ती कन्ट्रोलर, निर्वाचन सेल पनि गठन भएको छ ।
सबै सुरक्षा निकायको आ आफ्नो भूमिका रहेको छ। निर्वाचनका लागि जम्मा ५ हजार १ सय ७७ जना सुरक्षाकर्मी खटिने छ। दाङमा सबैले साथ सहयोग गरेमा शान्तिपूर्ण तरिकाले निर्वाचन गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठले निर्वाचनका अगाडिको दिन र मत परिणाम नआउँदा सम्म सुरक्षामा कुनै कमी कमजोरी नहुने र नागरिकले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि नारायण श्रेष्ठ , पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी ,जिल्ला बारका अध्यक्ष गोमा महरा, नेपाली कम्युनिस्ट पार्टीका विश्वराज आचार्य, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली काङ्ग्रेसका अर्जुन योगी, जिल्ला अदालत दाङका श्रेतेदार गोपाल भण्डारी लगायतले भनाइ राखेका थिए ।
दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङमा निर्वाचन क्षेत्र ३ वटा छन् । कुल मतदाता सङ्ख्या ४३१६८६ जसमा पुरुष २१३३८० , महिला २१८३०३ र अन्य ३ जना रहेका छन् । दाङमा जम्मा मतदान स्थल १५९ छन् भने ४८२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । 