© 2026
लमही, १ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङका प्रमुख धार्मिक तीर्थस्थलहरूको अवलोकन गर्दै धार्मिक सद्भाव, सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सशक्त सन्देश दिएका छन् ।
माघे सङ्क्रान्तिको अवसर पारेर गरिएको यो भ्रमणले दाङको धार्मिक पहिचानलाई प्रदेशस्तरीय उजागर गरेको छ। मुख्यमन्त्री आचार्यले लमही नगरपालिका–९ स्थित द्वापर युगसँग सम्बन्धित ऐतिहासिक रिहार बगार बाबा धामको अवलोकन गर्दै थारु, यादव, अवधि समुदायको आस्थासँग जोडिएका मन्दिरहरूमा पूजा अर्चना मात्र गरेनन् स्वभाव साटे।
शिव मन्दिर, बगार बाबा शक्ति पीठ, मामा–भैने, मामी–सौरीलगायतका मन्दिरमा उनले श्रद्धापूर्वक पूजा गर्दै धार्मिक सहअस्तित्वको उदाहरण प्रस्तुत गरे। धार्मिक पर्यटनसँग जोडिएका पूर्वाधारको स्थलगत अवलोकनपछि मुख्यमन्त्री आचार्यले रिहार धामलाई प्रदेशकै गौरवको धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने स्पष्ट पारे।
“धार्मिक आस्था र पर्यटनलाई जोडेर विकास गरे समग्र प्रदेशको समृद्धिमा टेवा पुग्छ,” उनले भने। भक्तजनको निरन्तर आगमन सुनिश्चित गर्न व्यवस्थापन र पूर्वाधारमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो।
माघे सङ्क्रान्तिका अवसरमा रिहार बगार बाबा धाममा लागेको मेलामा यस वर्ष उल्लेख्य भीड देखिएको छ। द्वापरयुगीन ऐतिहासिक पृष्ठभूमि बोकेको यस धाम थारु र अवधि समुदायको विशेष आस्थाको केन्द्र मानिन्छ।
स्थानीयका अनुसार यस वर्ष मेलाको व्यवस्थापन अघिल्ला वर्षको तुलनामा बढी चुस्त र व्यवस्थित देखिएको छ। यहाँ नेपाल लगायत भारतको पटना ,तुल्शिपुर लगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गर्दछन् ।यहाँ रहेका प्रसिद्ध मन्दिरमा आफ्नो मनोकामना पूरा गराउन्न वर माग्ने गरेमा हरेक मनोकामना पूरा हुने श्रर्दालुहरु बताउँछन् ।
यस क्रममा मुख्यमन्त्री आचार्यले बाह्र कुने दहको पनि अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गरे। पुस २९ देखि माघ १ गतेसम्म सञ्चालन भएको ‘माघे सङ्क्रान्ति बाह्र कुने दह मेला–२०८२’ का अवसरमा उनी धार्मिक स्थलमा पुगेका हुन।
वराह क्षेत्र संरक्षण तथा संवर्द्धन धार्मिक समितिका पदाधिकारीसँगको छलफलमा मुख्यमन्त्री आचार्यले बाह्र कुने दह क्षेत्रलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए। मेलाको समयमा भक्तजनको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गरिने बताउँदै सुरक्षित धार्मिक पर्यटन विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
१२ भाइ बराहको जन्मस्थलका रूपमा मानिने बाह्र कुने दह धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थल हो। मनोकामना पूरा हुने जनविश्वासका कारण वर्षभरि नै यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।
धार्मिक स्थलहरूको अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यसँगै एमाले महासचिव शङ्कर पोखरेल, प्रदेश सभा सदस्य तथा पूर्व सदस्यहरू, घोराही उपमहानगरपालिकाका प्रमुख, लमही नगरपालिकाका पूर्व नगर प्रमुख, जनप्रतिनिधि, सामाजिक अगुवा तथा धाम व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
रिहार धाम र बाह्र कुने दह दुवै स्थानमा गरिएको भ्रमण र छलफलले सङ्घ, प्रदेश र स्थानीय सरकार बिचको समन्वयमा योजनाबद्ध विकास आवश्यक रहेको उनले बताए ।
मुख्यमन्त्री आचार्यको उपस्थितिले दाङका धार्मिक स्थलहरू केवल आस्थाका केन्द्र मात्र नभई सद्भाव, सहिष्णुता र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै गएको सन्देश दिएको स्थानीयवासी बताउँछन्।