Butwal Today

माघीः मुक्तिको सास फेर्ने दिन

१ माघ २०८२, बिहीबार
अ+
अ-

बर्दिया । माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिलि गुरिगुरि जार

(माघ नुहाएर
बंगुरको मासु खायौं
साथी हो
माघमा खायौं गुलियो गुलियो जाँड)
लुम्बिनी प्रदेशका थारु गाउँमा माघ लाग्न थालेपछि छुट्टै रौनक हुन्छ । पुसको अन्तिम साताबाटै थारु बस्तीमा चहलपहल बढ्छ । घर लिपपोत गरिन्छ, भकारी सफा गरिन्छ, पुराना लुगा छुट्याइन्छ, नयाँ सपना मनभित्र गाँसिन्छ ।

थारु समुदायमा माघी कुनै एक दिनको चाड होइन । यो एक वर्षको हिसाब–किताब, पीडाको सम्झना, मुक्तिको अनुभूति र नयाँ जीवनको सुरुवात हो । बढैयाताल गाउँपालिका वडा नं. ५ का ८४ वर्षिय स्थानिय गोविन्द प्रसाद थारु भन्छन् । उनी भन्छन् “हामीसँग घडी थिएन, तर माघी थियो । माघीले नै हाम्रो समय गन्थ्यो ।”

लुम्बिनी प्रदेशका बुढापाकाहरू माघीलाई यसरी परिभाषित गर्छन्,-थारु दृष्टिमा थारु समुदायमा माघलाई नयाँ वर्ष, सामाजिक नवीकरण, श्रम सम्झौता तोड्ने दिन, सामूहिक निर्णयको समय र आत्माको शुद्धीकरण यी सबैको एकैसाथ प्रतिनिधित्व गर्ने पर्व ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ का ९५ बर्षिय बरघर जिलेदार थारु भन्छन्,-“माघ भनेको, खानुपिउनु मात्र होइन, माघी भनेको फेरि मुक्तिको सास फेर्ने दिन हो ।”

आजको पुस्ताले माघीलाई रंगीन कार्यक्रम, स्टेज र भाषणसँग जोड्न थालेको छ । तर बुढापाकाका आँखामा माघ सम्झँदा डर, पसिना र आँसु पनि मिसिन्छ ।
लुम्बिनी प्रदेशका हजारौँ थारु परिवारका लागि कमैयाप्रथा केवल गरिबीको कथा होइन, पुस्तौँ पुस्तासम्म बोकिएको पीडाको इतिहास हो ।

कमैयाप्रथाको सुरुवात सानो ऋणबाट हुन्थ्यो । बाढी, रोग, विवाह वा खान नपुग्दा थारु परिवार साहु-जमीन्दारसँग ऋण लिन बाध्य हुन्थे । त्यो ऋणको बदलामा परिवारका सदस्यले साहुको खेत जोत्थे, बारी खन्थे, गोठालो बस्थे वा घर बनाउनेजस्ता काम गर्थे ।

कामको मूल्य तलब होइन, ऋण घट्ने आशा मात्र हुन्थ्यो । तर वास्तविकता फरक थियो । साहुले लेखेको हिसाब थारु कमैयाले बुझ्न सक्दैनथे ।
ब्याज थपिँदै जान्थ्यो, ऋण घट्नुको सट्टा झन् बढ्थ्यो । यसरी एक पुस्ताले लिएको ऋण अर्को पुस्तामा सरेर जान्थ्यो । बाबु बितेपछि छोरा कमैया बन्थ्यो, छोरा पछि नाति । कमैयाको सन्तानको जन्म नै ऋणसँग बाँधिएको हुन्थ्यो ।

कमैयाको जीवन स्वतन्त्र थिएन । उनीहरूले कहिले काम छोड्ने, कहिले आफ्‌नै घरमा सर्न पाउने, त्यो निर्णय उनीहरूकै हातमा हुँदैनथ्यो । शिक्षा, स्वास्थ्य र सम्मान सबै साहुको दयामा निर्भर थियो । महिलाहरू दोहोरो शोषणमा पर्थे-घर र खेत दुवैमा ।

त्यसैले बुढापाकाहरू भन्छन्, “कमैया हुनु भनेको मानिस भएर नबाँच्नु जस्तै थियो ।” यही कारण माघको दिन ऋण तोड्ने, साहु छोड्ने अवसर आउँदा थारु समुदायका लागि त्यो दिन मुक्तिको प्रतीक बन्यो । कमैयाप्रथा कानुनले अन्त्य गरिए पनि, यसको पीडा र स्मृति आज पनि थारु समाजको इतिहासमा नबोलिएको अध्याय बनेर बाँचेको छ ।

७९ वर्षीय बुधई थारु (दाङ)का शब्दहरूमा माघीसँग कमैयाप्रथाको कठोर यथार्थ समेटिएको छ । उनी भन्छन्‌–“बच्चा जन्मिँदा नै उसले साहुको ऋण बोकेको हुन्थ्यो ।”
यो भनाइ केवल भावुक अभिव्यक्ति होइन, थारु समुदायले पुस्तौँसम्म भोगेको जीवनको साँचो चित्र हो । कमैयाप्रथामा जन्म, जीवन र भविष्य सबै ऋणसँग गाँसिएको हुन्थ्यो । यसरी ऋण केवल आर्थिक होइन, सामाजिक बन्धन बन्थ्यो ।

यही अध्यारो जीवनबीच माघ थारु समुदायका लागि आशाको उज्यालो बन्थ्यो । माघको दिन पुरानो श्रम सम्झौता सकिन्थ्यो । साहु–कमैया बीचको मौखिक वा लिखित सम्झौता तोडिन्थ्यो र कमैयाले चाह्यो भने साहु छोड्न पाउने अधिकार पाउँथ्यो । यो अधिकार वर्षको अरू कुनै दिन थिएन । माघ नै त्यो दिन थियो, जब कमैयाले आफ्नो जीवनबारे निर्णय लिन सक्थ्यो ।

कतिपय कमैयाले अर्को साहु खोज्थे । यो स्वतन्त्रता पूर्ण नभए पनि, काम र शर्त बदल्ने अवसर थियो । तर केहीले ठूलो साहस देखाउँदै साहु नै नखोज्ने निर्णय गर्थे ।
उनीहरूका लागि त्यो निर्णय डर र जोखिमले भरिएको हुन्थ्यो, तर त्यही डरभित्र स्वतन्त्र जीवनको सपना लुकेको हुन्थ्यो । त्यसैले माघ केवल पर्व होइन, बन्धन तोड्ने दिन बन्यो ।

यसै कारण थारु समुदायमा माघीलाई “मुक्तिको दिन” भनियो । २०६० साल माघ २ गते नेपाल सरकारले कमैयाप्रथा औपचारिक रूपमा अन्त्य गरेपछि माघको अर्थ अझ गहिरो बन्यो । त्यो दिनपछि माघ केवल विगत सम्झिने पर्व रहेन, इतिहास र वर्तमानलाई जोड्ने प्रतीक बन्यो, जहाँ पीडाको स्मृति र स्वतन्त्रताको आशा एकसाथ मनाइन्छ ।

लुम्बिनी प्रदेशका थारु बस्तीमा माघी एक दिनमै सकिने चाड होइन । यो पर्व दिन-दिनको क्रम, संस्कार र सामूहिक अभ्यासमार्फत मनाइन्छ । माघी आउनु अघि र माघीको दिन गर्ने कर्मकाण्डले थारु समुदायको जीवनदर्शन, सामाजिक संरचना र संस्कृतिलाई स्पष्ट देखाउँछ ।

माघ अघिल्लो दिन ‘जिता मरना’ अर्थात पुस महिनाको अन्तिम दिन माघको अघिल्लो दिनलाई थारु समुदायमा ‘जिता मरना’ भनिन्छ । यो दिनलाई शुद्धीकरणको दिन मानिन्छ । बिहान सबेरै घरका सबै सदस्य नदी, खोल्सा, कुलो वा पोखरीमा गएर स्नान गर्छन् ।

पुसको कठ्यांग्रिने जाडोमा चिसो पानीले शरीर थर्किएपनि, यो स्नान शारीरिकभन्दा बढी मानसिक र आत्मिक शुद्धताको प्रतीक हो । थारु विश्वासअनुसार यसरी नुहाउँदा वर्षभरि लागेको अपवित्रता, रोग र दुःख पानीसँगै बगेर जान्छ ।

जिता मरनाको दिन पुराना कपडा फुकालेर नयाँ कपडा लगाइन्छ । यसले पुरानो वर्षका पीडा, ऋण र दुःख छोडेर नयाँ वर्षमा प्रवेश गरेको संकेत गर्छ ।
७२ वर्षीया फूलमती थारु (बाँके) आफ्नो बाल्यकाल सम्झँदै भन्छिन्, “जाडोले दाँत कटकटाउँथ्यो, तर ननुहाई माघ आउँदैनथ्यो ।” उनका शब्दले जिता मरनाको कठोरता र सांस्कृतिक अनिवार्यतालाई एकसाथ देखाउँछ ।

माघीको दिन, नयाँ वर्ष, नयाँ अगुवा जिता मरनापछि आउने माघको दिन थारु समुदायका लागि नयाँ वर्षको सुरुवात हो । बिहान सबेरै घर–घरमा चुल्हो बल्छ । ढिकरी पाक्छ, घोंगी उम्लिन्छ, माछा–मासुको तयारी हुन्छ । यो खानपान केवल स्वादका लागि होइन, वर्षभरि परिश्रम गर्ने शरीरलाई शक्ति दिने संस्कार पनि हो, थारु समुदायमा ।

माघीको अर्को महत्वपूर्ण पक्ष हो—सामूहिक निर्णय । यही दिन गाउँको बैठक बस्छ र बरघर (भल्मन्सा) चयन गरिन्छ । बरघर गाउँको अगुवा हो, जसले झगडा मिलाउने, सामाजिक नियम पालना गराउने र बाहिरी निकायसँग गाउँको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिन्छ ।

बरघर चयन गर्दा सबैको सहमति आवश्यक मानिन्छ । उमेर, अनुभव र इमानदारीलाई मुख्य आधार बनाइन्छ । यसरी माघ थारु समाजमा केवल चाड होइन, सामाजिक नेतृत्व नवीकरण गर्ने लोकतान्त्रिक अभ्यास पनि हो ।

इ वर्ष गलट् मनै, बरघर चुन्लि अब ई साल बिगर गैल
“माघमा गलत मान्छे चुने, पुरै वर्ष बिग्रिन्छ” गीतभित्र लुकेको थारु इतिहास हो यो ।
थारु समुदायमा माघ केवल खानपान र नाचगानको पर्व होइन, सामाजिक चेतना र ऐतिहासिक स्मृतिको उत्सव हो । माघीको दिन बरघर (भल्मन्सा) चयन गर्दा बुढापाकाहरू किन यति गम्भीर हुन्छन् भन्ने कुरा उनीहरूको एउटै भनाइले स्पष्ट पार्छ । यही सामूहिक चेतना माघका गीत र नाचमा पनि गहिरो गरी मिसिएको छ ।

मघौटा नाच होइन, जीवनकथा हो । मघौटा थारु समुदायको प्रमुख माघ नाच हो । बाहिरबाट हेर्दा यो केवल लयबद्ध चाल र तालको प्रदर्शन जस्तो देखिए पनि, भित्रभित्रै यसले थारु समाजको इतिहास बोकेको हुन्छ । मघौटा नाच्दा खुट्टा मात्र चल्दैन, पुस्तौँको स्मृति पनि चल्छ । खेतमा पसिना बगाएको श्रम, साहु–जमीन्दारको शोषण, परिवारका दुःख–सुख र स्वतन्त्रताको सपना—सबै कुरा गीत र चालमा मिसिएको हुन्छ ।

मघौटाका गीतहरूमा प्रेम पनि छ, तर त्यो प्रेम सजिलै प्राप्त भएको होइन । श्रमको थकानपछि भेटिएको मुस्कान, दुःखको बीचमा पलाएको आशा, र माघी आउँदा बन्धन टुट्ने विश्वास गीतका पंक्तिमा झल्किन्छ ।

साहुको खेतमा पसिना झार्‍यौ,
माघ आयो, बन्धन काट्यौँ”

यी पंक्तिहरू केवल गीत होइनन्, थारु जीवनको आत्मकथा हुन् । थारु समुदायको गित मध्य ढमार पनि हो जहाँ सामूहिक पीडाको स्वर छ । ढमार गीत थारु समुदायमा एक्लैले गाइँदैन । यो गीत सामूहिक रूपमा, स्वर मिलाएर गाइन्छ । ढमारको यही विशेषताले यसको अर्थ झन् गहिरो बनाउँछ ।

थारु समाजमा पीडा कहिल्यै एक्लैको हुँदैन; दुःख साझा हुन्छ, त्यसको स्वर पनि साझा हुन्छ । ढमार गीतमा दुःख, अन्याय र संघर्षका कथा हुन्छन्, तर ती कथा करुणा भन्दा बढी एकताको शक्ति बोकेका हुन्छन् ।

८५ वर्षीय जयराम थारु ढमारको महत्व यसरी सम्झन्छन्,–“ढमार गाउँदा कसैले एक्लै रोएको देखिँदैन, तर सबैको मन रोइरहेको हुन्छ ।” उनका शब्दले ढमारको गहिरो सामाजिक अर्थ प्रस्ट पार्छ । ढमार गीत थारु समुदायका लागि पीडाको अभिव्यक्ति मात्र होइन, पीडालाई सहन सक्ने सामूहिक साहस पनि हो ।

यसरी मघौटा र ढमार थारु समाजका गीत–नाच मात्र होइनन् । ती इतिहास बोल्ने माध्यम हुन्, जहाँ नेतृत्वको चेतना, श्रमको सम्मान, शोषणको विरोध र साझा पीडाबाट जन्मिएको एकता एकसाथ अभिव्यक्त हुन्छ ।

“ढमार गाउने बेला
रोएको कसैले देख्दैन,
तर सबैको मन रुन्छ ।”
थारु समुदायमा माघीको खानपान केवल भोक मेट्ने साधन होइन, संस्कृति, स्मृति र पहिचानको अभिव्यक्ति हो । लुम्बिनी प्रदेशका थारु बस्तीमा माघ आउँदा भान्साघर आफैँ बोल्न थाल्छ । चुल्होको आगो, उम्लिरहेको भाँडो र भान्सामा फैलिएको बास्नाले यो चाडको गहिरो अर्थ सम्झाउँछ ।

बुढापाकाहरू भन्छन्‌-माघको खानपान स्वादका लागि होइन, संस्कारका लागि हो । माघको बिहान सबेरै थारु घर–घरमा ढिकरी पाक्न थाल्छ । ढिकरी चामलको पिठोबाट बनाइने साधारण परिकार जस्तो देखिए पनि यसको अर्थ गहिरो छ । यो खेतमा उब्जाएको धान, हातको पसिना र सामूहिक श्रमको प्रतीक हो । ढिकरी हातले खाइन्छ, चाम्चा प्रयोग गरिँदैन । यसले मानिस र खानाबीचको प्रत्यक्ष सम्बन्ध देखाउँछ । ढिकरीसँगै घोंगी, माछा र सुँगुरको मासु अनिवार्यजस्तै हुन्छ ।

घोंगी थारु खानपानको पहिचान हो । खोल्सा, नदी र सिमसारसँग जोडिएको थारु जीवनशैली घोंगीमा झल्किन्छ । घोंगी टिप्न जानु, पकाउनु र सबै मिलेर खानु सामूहिक संस्कार हो । माछा र सुँगुरको मासु पनि माघीमा विशेष मानिन्छ ।

सुँगुर पाल्ने परम्परा थारु समुदायमा पुरानै हो, र माघीमा यसको मासु खानु वर्षभरि परिश्रम गर्ने शरीरलाई शक्ति दिने विश्वाससँग जोडिएको छ । चिचर (चामलको झोल वा परिकार) माघीको अर्को महत्त्वपूर्ण हिस्सा हो । यो साधारण देखिए पनि थारु भान्साको मौलिक स्वाद बोकेको परिकार हो ।

यस्तै, घरेलु मदिरा माघको खानपानमा विशेष स्थान राख्छ । यो केवल नशाका लागि होइन, पाहुनालाई स्वागत गर्ने, बुढापाकालाई सम्मान गर्ने र सामूहिक खुसी बाँड्ने माध्यम हो । तर बुढापाकाहरू सधैँ जोड दिन्छन्, मदिरा संस्कार हो, दुरुपयोग होइन ।

८० वर्षीय सोमई थारु माघको खानपान सम्झँदै भन्छन्‌–“ढिकरी नखाए माघी आएजस्तो लाग्दैन । यो खाना होइन, हाम्रो चिनारी हो ।” उनका शब्दले माघको खानपानको सार बताउँछ । यो खानपानले थारु समुदायलाई आफ्‌नो वास्तविक धरातल सम्झाउँछ, जमिन, जंगल र पानीसँग जोडिएको जीवन ।

आज बजारिया खानाले गाउँ पस्न थाले पनि बुढापाकाहरू चिन्तित छन् । उनीहरू भन्छन्, माघमा थारु खाना हरायो भने संस्कृति पनि हराउँछ । त्यसैले माघको खानपानलाई थारु समुदायले पेट भर्ने परिकारभन्दा माथि उठाएर पहिचान जोगाउने माध्यमका रूपमा लिएका छन् ।

माघीको भान्सामा पाक्ने प्रत्येक परिकार थारु इतिहास र जीवनदर्शनको स्वाद बोकेको हुन्छ । ढिकरी हातले नखाए, माघी नआएजस्तो लाग्छ, लुम्बिनी र अन्य क्षेत्रको माघ, बुढापाकाको चिन्ता र सन्देश दिन्छन् । थारु समुदायमा माघी केवल पात्रोको एउटा मिति होइन, जीवनको अनुभूति हो ।

बुढापाकाहरूले भन्ने गर्छन्‌–“ढिकरी हातले नखाए, माघी नआएजस्तो लाग्छ ।” यस वाक्यभित्र माघको सार लुकेको छ । ढिकरी हातले खानु भनेको केवल परम्परा पालना गर्नु होइन, जरा सम्झिनु, आफ्‌नो पहिचानसँग जोडिनु हो । यही अनुभूति लुम्बिनी प्रदेशका थारु बस्तीहरूमा अझ गहिरो देखिन्छ ।

लुम्बिनी प्रदेशमा माघ मनाउने शैलीमा मघौटा नाच प्रमुख छ । मघौटा यहाँ केवल नाच होइन, इतिहास बोल्ने माध्यम हो । खेतमा पसिना बगाएको कथा, साहुको शोषण, र माघी आउँदा बन्धन तोडिएको स्मृति मघौटाका चाल र गीतमा मिसिएको हुन्छ । यही कारण यहाँका बुढापाकाहरू मघौटालाई ‘नाचभन्दा बढी कथा’ भन्छन् ।

पूर्वी नेपालका थारु बस्तीहरूमा माघी मनाउने शैली केही फरक देखिन्छ । यहाँ सखिया नाच प्रमुख मानिन्छ । सखियाको लय, चाल र गीत फरक भए पनि यसको उद्देश्य एउटै हो । समुदायलाई एकतामा बाँध्नु । गीत–संगीतको धुन फरक भए पनि भावना उस्तै छ ।

पूर्वी क्षेत्रमा गाइने गीतहरूमा प्रेम, प्रकृति र सामूहिक जीवनको चित्र बढी पाइन्छ । लय फरक, शब्द फरक, तर त्यसले बोकेको भावना भने एउटै छ—थारु हुनुको गर्व । यसरी हेर्दा माघ मनाउने शैली क्षेत्रअनुसार फरक भए पनि, यसको भावना एउटै रहन्छ ।

आजको माघप्रति बुढापाकाहरूको चिन्ता बढ्दै गएको छ । उनीहरू भन्छन्, माघी अब मञ्च, भाषण र कार्यक्रममै सीमित हुँदैछ । फोटो खिचिन्छ, भाषण हुन्छ, तर भावना क्रमशः हराउँदैछ । ७६ वर्षीय दयाराम थारु भन्छन्,-“संस्कृति सिकाउन स्कूल होइन, घर चाहिन्छ ।” उनका अनुसार माघीको संस्कार घरबाटै सुरु हुनुपर्छ, भान्सामा ढिकरी पकाउँदा, आँगनमा गीत गाउँदा, र बुढापाकाले कथा सुनाउँदा ।