© 2026
गुल्मी, ०१ माघ ।
गुल्मीको पवित्र धार्मिक स्थल रिडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि बिहीबारदेखि माघे सङ्क्रान्ति मेलाको सुरु हुने भएको छ ।
मेलाको सम्पूर्ण तयारी पुरा भएसँगै बुधबारदेखि रुरुक्षेत्रमा आउने व्यापारी र श्रद्धालुहरूको चहलपहल समेत सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रको रिडी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
रिडीमा आयोजना हुने मेलाले देशभरका धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । मेलालाई व्यवस्थित बनाउन काली गण्डकीमा स्नानघाटको सरसफाइ गरी नुहाउनका लागि थप सहज बनाइएको छ ।
वाल उद्यान, हस्तकला तथा कृषि सामग्री प्रदर्शनी स्थल, यातायात व्यवस्थापन, शौचालय निर्माण, खोला तर्नका लागि अस्थायी पुल निर्माण, पर्यटक हब बनाउनका लागि खोला थुनेर रुरुताल निर्माण, सांस्कृतिक कार्यक्रमको लागि मञ्च व्यवस्थापन, व्यापारका लागि आवश्यक स्टलहरू निर्माण लगायत विभिन्न संरचनाहरू निर्माण भैसकेको गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष एवं मेला व्यवस्थापन समितिका संयोजक ताराप्रसाद सुबेदीले जानकारी दिएका छन् ।
काली गण्डकी र रिडी खोलाको सङ्गम स्थल रिडी क्षेत्र हिन्दु धर्मावलम्बीका लागि विशेष तीर्थस्थलको रूपमा परिचित छ ।
माघे सङ्क्रान्तिका अवसरमा यहाँ स्नान, दान तथा पूजाआजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण गुल्मी, पाल्पा, स्याङ्जा, बागलुङ, अर्घाखाँची लगायत छिमेकी जिल्लाबाट मात्र होइन, काठमाडौँ, पोखरा, बुटवल जस्ता ठुला सहर तथा भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति हुने गर्दछ ।
रुरुक्षेत्र गाउँपालिका मुख्य संरक्षक रहेको उक्त मेला गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आयोजनामा छ दिनसम्म सञ्चालन हुन लागेको हो । रूरू क्षेत्रलाई ऋष्यहरूको तपो भूमिका रूपमा चिनिन्छ ।
सङ्क्रान्तिको दिन तिन जिल्लाको सङ्गम स्थल काली गण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान् ऋषिकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । काली गण्डकीमा स्नान गर्नाले आफूले अनजानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।
रुरुक्षेत्र नेपालकै चारधाम मध्यको एक धाम मानिन्छ । रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोया वाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलामा व्यापारका लागि प्युठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँबाट व्यापारीहरू यति बेला रिडीमा आइपुगेका छन् ।
मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत राखिने भएको छ । रिडी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वले गर्दा यो क्षेत्र पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै जान थालेको छ ।
माघे सङ्क्रान्ति मेलाले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा थप उजागर गर्ने विश्वास लिइएको छ । आयोजकले मेलालाई भव्य, सभ्य, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै सम्पूर्ण श्रद्धालुहरूलाई सहभागिताका लागि आग्रह गरेको छ ।