© 2026
नवलपरासी, पश्चिम ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पछिल्लो समय चोरीका घटना बढ्दै गएको पाइएको छ ।
घरमा कोही नभएको मौका छोपेर ताला फोडी घरायसी सामान चोरी गर्ने क्रम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्दीप सापकोटाका अनुसार असोज महिनायता चोरीका घटनामा उल्लेख्य वृद्धि भएको हो । विशेष गरी वडा नम्बर १ आसपासका क्षेत्रमा चोरीका घटना बढी देखिन थालेको उनले बताए ।
“हाम्रो वडामा मात्र होइन, अन्य ठाउँमा पनि यस्ता घटना सुनिरहेका छौँ । स्थानीयवासी त्रसित बनेका छन् । प्रहरी प्रशासनले रातिको समयमा सुरक्षा गस्ती बढाउन आवश्यक छ, किनकि दिनप्रतिदिन चोरीका घटना बढिरहेका छन्,” अध्यक्ष सापकोटाले भने ।
उनका अनुसार घरधनी बाहिर गएको वा लामो समयसम्म घर रित्तो रहेको अवस्थामा चोरी हुने गरेको छ । चोरहरूले ताला फुटाएर घरभित्र प्रवेश गरी बहुमूल्य तथा घरायसी सामान चोरी गर्ने गरेका छन् । असोज महिनादेखि हालसम्म ४–५ वटा चोरीका घटना भइसकेको उनले जानकारी दिए ।
चोरीका घटनाले स्थानीयमा त्रास बढ्दै गएको भन्दै अध्यक्ष सापकोटाले सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई आग्रह गरेका छन् । विशेष गरी रात्रिकालीन समयमा नियमित गस्ती बढाए चोरी नियन्त्रणमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
यसैबिच स्थानीय वासीहरूले चोरी नियन्त्रणका लागि प्रहरी, जनप्रतिनिधि र समुदायबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।