© २०२३
सल्यान । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर, २ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा दुर्घटना भएको हो । विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू समेत जलेर ध्वस्त भएका छन् । घटनास्थलमै उनीहरूको ज्यान गएको बताइएको छ ।
सिद्धकुमाख गाउँपालिका, २ का वडा अध्यक्ष मेकराज बुढाथोकीले आफ्नो वडाको एकै गाउँका ९ जनाको एकैपटक ज्यान गएको पुष्टि गरे। उनले सिद्धकुमाख नै शोकमा डुबेको बताए ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन् ।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको खबर प्राप्त भएको सदस्य लक्ष्मी विकले जानकारी दिइन् ।
उनीहरू करिब दुई वर्षअघि रोजगारीको लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए ।
हालसम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी रहेको जनाइएको छ ।
सिद्धकुमाखको २ नम्बर वडा कार्यालयले घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार वडा शोक सभा आयोजना गरेको छ । साथै वडा कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको वडा अध्यक्ष बुढाथोकीले बताए ।