Butwal Today

कतारमा धुमधामका  साथ “माघ्या सकराटी” मनाइँदै

२८ पुष २०८२, सोमबार
अ+
अ-

कतार ।

मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड “माघ्या सकराटी” (माघे संक्रान्ति) कतारमा धूमधामका साथ मनाइने भएको छ ।

नेपाल मगर संघ शाखा कतारको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि(मिनाम ल्हेस् ५०१९)- २०२६ को अवसरमा आयोजित वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाउन लागेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आगामी शुक्रवार डिपिएस मोनार्क इन्टरनेसनल  स्कुलको सभा हलमा भव्यताका साथ मनाउने तयारी भइरहेको र कार्यक्रमका लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र पुरन राजकोटी मगर उद्घोषकका रूपमा कतार आउने संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए ।

मगर समुदायको मौलिक पहिचान,भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा अतिथि कलाकारहरूको साथमा  नेपाल मगर सांस्कृतिक परिवारका परिवारमा आबद्ध रहेका कलाकारहरूको बेजोड मौलिक नृत्य प्रस्तुतिहरू रहनेछन् साथै मगर समुदायका विभिन्न सांस्कृतिक झाँकी,सालै जो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा मगरहरूको परम्परागत भेष भूषाको प्रस्तुति समेत रहने सङ्घले जनाएको छ।

शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध   रहेका विभिन्न मातृ संस्थाहरूले जातियता झल्काउने सामूहिक नृत्य,सगैं जनजाति बिचको सम्बन्धलाई थप सुमधुर प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन चाहने दर्शक तथा टिकट होल्डरहरूको लागी कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको समेत व्यवस्थापन गरिएको सङ्घले जनाएको छ ।

बुटवल टुडे राष्ट्रिय दैनिक समेत सञ्चार सहयोगीको रूपमा रहेको “माघ्या सकराटी” कार्यक्रमलाई भव्य र सफल बनाउन कतारमा रहेका नेपाली समुदाय तथा विभिन्न संघ संस्थाहरूलाई उपस्थितिको लागी सङ्घले अनुरोध समेत गरेको छ ।

“माघ्या सकराटी” सम्पूर्ण मगर समुदायको पहिचान संस्कृति एकता र प्रकृतिसँगको सम्बन्ध झल्काउने गौरवपूर्ण राष्ट्रिय पर्व हो।

माघ्या सकराटीको पूरा अर्थ “माघ्या” को अर्थ माघ महिना “सकराटी” भनेको सूर्यले राशि परिवर्तन गर्ने दिन (संक्रान्ति) त्यसैले माघ्या सकराटी भन्नाले माघ महिनामा सूर्य उत्तरायण लाग्ने दिनलाई जनाउँछ। यो दिनदेखि चिसो घट्दै जाने र नयाँ ऊर्जा, नयाँ जीवन चक्र सुरु हुने विश्वास गरिन्छ।