© २०२३
बुटवल, १६ पुस ।
रोटरी क्लव अफ बुटवलको १४ सय ४४ औं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पीकर रहेको थियो ।
शनिबारको बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी चर्चित लोकदोहोरी गायक राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय कार्यसमिति सचिव खुमन अधिकारी र लोकदोहोरी गायिका मन्जु भट्टराईले मनोरन्जन दिलाए ।
कलाकारद्वयले सांगेतिक प्रस्तुतीमार्फत रोटरीको बैठकलाई मनोरन्जनात्मक बनाएका हुन् । त्यस अवसरमा बोल्दै चर्चित लोकदोहोरी गायक अधिकारीले आफ्नो सांगेतिक यात्राको बिगतदेखि वर्तमानसम्मको अनुभव सुनाएका थिए ।
कलाकारहरुलाई राज्यले पनि प्रयोग मात्रै गर्न खोजेको तर संरक्षण गर्न नसकेको भन्दै कलाकारिताको क्षेत्रमा देखिएका चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्ने र मुलुककै पहिचान बोकेको लोकदोरीलाई बचाउनुपर्नेमा उनले जोड दिए ।
गायिका मन्जु भट्टराईले आफू नयाँ कलाकारको रुपमा भर्खर अगाडि बढ्दै गरेको भन्दै सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरिन् । बैठकमा सहभागी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण लेकालीले लोकदोहोरीले मात्रै नेपालको मौलिक पहिचान बोकेको भन्दै त्यही भएर नै यसले उचाई हासिल गरेको बताए ।
क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, पुर्व अध्यक्ष आमोद सिमाङ्गैडा, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, तारानाथ भट्टराईलगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए । बैठकमा रोटरीयनहरु मधुप्रकाश अर्याल, जीवकान्त काफ्लेलगायतले पनि मन्तव्य व्यक्त थिए भने सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।