© २०२३
लमही, २८ पुस ।
माघ थारु समुदायका लागि केवल एक महिना होइन, यो उनीहरूको नयाँ वर्ष, संस्कार र पहिचान हो ।
माघको पूर्व सन्ध्यादेखि नै दाङका थारु बस्तीहरूमा उत्सवको रौनक छाएको छ । सहर पसेका आफन्तहरू गाउँ फर्किँदै छन्, घर–आँगनमा काठ–दाउरा, दुना टपरी र परिकारको जोहो हुँदै छ । सिङ्गो बस्ती माघको स्वागतमा जुटेको देखिन्छ ।
माघलाई महोत्सवका रूपमा मनाउने परम्परा अनुसार अहिले थारु बस्तीहरूमा सांस्कृतिक कार्यक्रमहरू सुरु भइसकेका छन् । विवाह संस्कारसँग जोडिएको डोली बोकेर निकालिएको झाँकी, थारु समुदायको मौलिक पहिचान झल्काउने लोकनृत्य र माघ महिनामा विशेष रूपमा गाइने धुस्रु गीतले वातावरणलाई थप जीवन्त बनाएको छ ।
शनिबार लमहीको सार्वजनिक बगैँचा थारु कला, संस्कृति र परम्पराले गुञ्जायमान बन्यो । विभिन्न बस्तीबाट आएका झाँकीहरूले माघ भित्रिएको सङ्केत मात्रै गरेनन्, थारु समुदायलाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरित गरे ।
“माघ हाम्रो संस्कार हो, हाम्रो परम्परा हो, हाम्रो नयाँ वर्ष हो,” थारु कल्याण कारिणी सभा लमहीका अध्यक्ष शिवप्रसाद चौधरीले भने, “यसलाई जोगाइराख्नु हाम्रो दायित्व हो, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण आजको आवश्यकता हो ।”
थारु कल्याण कारिणी सभा लमहीको आयोजनामा सम्पन्न माघ सांस्कृतिक महोत्सव–२०८२ लमही सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका नगर प्रमुख चौधरीले थारु समुदाय कला, संस्कृति र सम्पदामा धनी रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको प्रतिबद्धता जनाए ।
महोत्सवकै अवसरमा थारु कल्याण कारिणी सभा लमहीले लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीलाई नागरिक अभिनन्दन गरेको छ । स्थानीय सरकारको तर्फबाट बडघर ऐन निर्माण तथा कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
यसै गरी बडघर ऐन निर्माणमा योगदान पु¥याएको भन्दै समाजसेवी हल्लुप्रसाद चौधरी सम्मानित भए । कार्यक्रममा थारु समुदायबाट राष्ट्रसेवामा उच्च ओहोदामा पुगेर सेवा गरिरहेका व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी शारदाप्रसाद चौधरी, जेन–जी आन्दोलनका क्रममा प्रदेश संरचनाको सुरक्षामा महत्त्वपूर्ण समन्वय गरेको भन्दै प्रहरी निरीक्षक गिताप्रसाद चौधरी तथा लमही क्षेत्रको शान्ति सुरक्षामा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डे सम्मानित भए ।
माघको खुसीयालीले थारु समुदायलाई फेरि एक पटक आफ्नो जरा, संस्कार र पहिचान सम्झाइदिएको छ । यो उत्सव केवल रमाइलो मात्र होइन, संस्कृति जोगाउने सामूहिक प्रतिबद्धता पनि बनेको छ ।