© 2026
तिलोत्तमा, २६ पुस ।
तिलोत्तमा ८ मा रहेको श्री भद्रकाली दुर्गा मन्दिर संरक्षण संस्थाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
वि।स।२०२१ सालमा स्थापित भद्रकाली मन्दिरको विकास र धार्मिक गतिविधि सञ्चालनको लागि गठन भएको संस्थामा ३८ जना आजीवन सदस्य र १९० जना साधारण सदस्य रहेका छन् । मन्दिरमा नित्य पूजा गर्नको लागि विभिन्न व्यक्तिहरूले ४ वटा अक्षयकोष स्थापना गरेका छन्।
साधारण सभाका प्रमुख अतिथि तथा वार्ड नम्बर ८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेलले मठ मन्दिरहरू समाजमा धर्म र संस्कृतिको जगेर्ना गर्न मात्र नभएर समाजमा सद्भाव र एकता कायम राख्दै सभ्य समाजको निर्माणमा समेत सदियौँदेखि महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै तिलोत्तमा नगरपालिकाले पुराना मन्दिरहरूको संरक्षणमा निरन्तर सहयोग गर्ने बताए।
उनले आफ्नो ठाउँमा रहेका सार्वजनिक स्थल र सम्पदा जोगाउन समुदाय नै बढी अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।
साधारण सभामा संस्थाका अध्यक्ष खेमराज भण्डारीले मन्दिरको आयव्यय र सम्पादित कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रदेश सरकारको सहयोगमा मन्दिर संरक्षणका कामहरू भइरहेको र यसै आर्थिक वर्षमा नयाँ मन्दिर र सभा हल निर्माण गर्ने काममा तिनै तहका सरकारको आर्थिक र भौतिक सहयोगको अपेक्षा राखेको बताए ।
कार्यक्रममा मन्दिर संरक्षण संस्थाका कोषाध्यक्ष गङ्गाराम पाण्डे, ज्योति शान्ति टोल विकास संस्थाका अध्यक्ष घनश्याम न्यौपाने, परोपकार आमा समूहकी अध्यक्ष हिरा ढकाल, कृष्ण कँडेल लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको सञ्चालन डिल्ली भण्डारीले गरेका थिए ।