Butwal Today

पहिरोले सबै लुट्यो, लालपुर्जाले जगायो आशा

२६ पुष २०८२, शनिबार
अ+
अ-

गुल्मी, २६ पुस । 

पहिरोले पटक–पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारहरूले डेढ दशकपछि बल्ल लालपुर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घर परिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।

बिसौनाको पहिरो इतिहास दर्दनाक छ । २०६४ साल र २०८१ सालमा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो । २०६४ सालमा पहिरोले घर च्याप्दा चोकबहादुर विकका आमा रुन्नती विक, श्रीमती अमृता विक तथा छोरा कृष्ण र सुरजको अकालमै ज्यान गएको थियो ।

पहिरोको त्रासबाट बच्न छिमेकीको घरमा ओत खोज्न आएका डल्ली विक र मुना विकसमेत पहिरोमै परे ज्यान गुमाउनु पर्‍यो । “त्यो दिन म भारतमा थिएँ, यहाँ भएको भए सायद आज म पनि उनीहरूसँगै मर्ने रहेछु,” चोकबहादुर विक विगतको उक्त दर्दनाक घटना सम्झँदै भन्छन् ।

भारतबाट फर्किएपछि उनले बिसौना छोडेर थाममा बसाइ सरे । तर नियतिले फेरि पीडा थप्यो । २०८१ साउन २२ गते बिसौनामै पुनः पहिरो जाँदा पहिलेको पहिरोमा बाँचेकै उनका आफन्त चार जनाले ज्यान गुमाउनु परेको थियो ।

लगातारको जोखिमपछि बिसौनाका १५ परिवार गत वर्षदेखि गाउँ छोडेर थाममा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए । अहिले मुसिकोट नगरपालिका र लाभग्राहीको ५०/५० लागत साझेदारीमा थामडाँडा नजिकै नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ ।

नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले पीडितलाई सुरक्षित जमिनको मालिक बनाउन मात्र डेढ वर्ष लागेको बताए । “नजिकको स्थानीय सरकार भएकाले पीडामा आँसु पुच्छ्न आएका थियौँ । लामो समयको पर्खाइपछि भर्खर सुरक्षित ठाउँमा जग्गा उपलब्ध गराएका छौँ, अब उहाँहरूको घर निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको छ,” उनले भने ।

जग्गाको कित्ता अनुसार लाभग्राहीले एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म बुझाएका छन् । लाभग्राही र नगरपालिकाको संयुक्त लगानीमा करिब ३५ लाख रुपैयाँमा जग्गा खरिद गरिएको मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेष्ठले जानकारी दिएकी छन् ।

श्रेष्ठका अनुसार विस्थापित परिवारका लागि नगरपालिकाले गत वर्षदेखि भाडाको व्यवस्था गर्दै आएको छ ।  लालपुर्जा पाएसँगै पीडितलाई अब चाँडै घरको आवश्यकता छ । पहिरो पीडित फुलमती विकको पाँच जनाको परिवार अरूको घरमा बसेको डेढ वर्ष भयो । बास एकातिर, बारी अर्कोतिर हुँदा आफूहरूलाई धेरै समस्या परेको उनले गुनासो गरिन् ।

जग्गाका लागि ऋण खोजेर पैसा बुझाए पनि अब घर कसले बनाइदेला भन्ने आसमा पीडित परिवार छन् । भिरालो र कच्ची जमिनका कारण पटक–पटक बसाइँ सर्नु परेको बिसौनामा २० देखि २२ घर जोखिममा भए पनि हाल १५ घरका लागि मात्रै जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

जिल्लाका अधिकांश दलित बस्ती भिरालो र जोखिमयुक्त भूभागमा रहेकाले पहिरोको खतरा अझै ठूलो रहेको स्थानीयको चिन्ता छ । लालपुर्जासँगै सुरक्षित बास र स्थायी जीवनको आशा पलाए पनि, थामडाँडामा विस्थापितका लागि घर निर्माण र जीविकोपार्जन अझै चुनौतीकै विषय बनेको बताइएको छ ।