Butwal Today

अनलाइन स्क्यामिङ ठगी नियन्त्रण गर

२४ पुष २०८२, बिहीबार
अ+
अ-

आजको डिजिटल युगमा विश्व सूचना प्रविधिबाट कोही पनि अलग हुन सक्दैन ।

यसको प्रयोग मानिसका लागि अपरिहार्य भैसकेको छ । जसरी हरेक धड्कनमा मुटुको चाल छ, त्यसरी नै विश्वका लागि डिजिटल प्रविधि पलपलमा आवश्यक छ । तर, पछिल्लो समय यही प्रविधि कसैको लागि जीवन बर्बाद गरिदिने माध्यम समेत बनेको छ ।

पछिल्लो पटक अनलाइन स्क्यामिङमार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको खुलेको छ ।

यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको देखिएको छ । उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने लालच देखाउँथे ।

घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा धेरै फाइदा हुने जस्ता लोभलाग्दा विज्ञापन गर्ने र सर्वसाधारण विश्वासमा परेर ठगिने गरेको सार्वजनिक भएको छ । यसबाट कतिको घर उजाडिएको छ ।

उता टिकटक लगायत सामाजिक सञ्जालमा आकर्षक रोजगारीको व्यवस्था भन्दै ठगी गर्नेक्रम समेत बढेको देखिएको छ । बुधबार मात्रै एक म्यानपावर व्यवसायीले सामाजिक सञ्जालमा विज्ञापन राखेर १८ करोड ठगी गरेको सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल ठगी गर्ने माध्यम बनेको छ । यो गंभीर चिन्ताको कुरा हो । अव डिजिटल सूचना प्रविधिको प्रयोगप्रति आम नागरिक सचेत बन्नु जरुरी छ । नेपाल प्रहरीले समेत सामाजिक सञ्जाल प्रयोगबाट ठगी बढिरहेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सीआईबीले गरिरहेको अनुसन्धानमा अनलाइन ठगीको माध्यम सामाजिक सञ्जाल बन्दै गएको देखिएको छ । पछिल्लोसमय फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमेल लगायतबाट फोन गरी डिजिटल वालेट तथा बैक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यो क्रम हरेक दिन बढिरहेको छ ।

ठगीमा परेका नागरिकले दिनहुँ प्रहरीकोमा ठगीका उजुरी लिएर जाने गरेको तथ्याँकले यो समस्याले पछिल्लोसमय आम नेपालीलाई चिन्तामा पारेको छ । पछिल्लोसमय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अधिक हुँदै गएका छन् । र, यसमार्फत ठगीका घटनापनि बढिरहेका छन् ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लोसमय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ । प्रहरीको तथ्याँक अनुसार पछिल्लोसमय फेसबुक म्यासेन्जर, फेसबुक, ट्विटर, ह्वाट्सएप तथा भाइबरबाट हिंसाजन्य ठगीका घटना भैरहेको प्रहरीको तथ्याँक छ ।

यसैगरी इमेलमार्फत १० प्रतिशत र इन्स्टाग्राममार्फत ६ प्रतिशत हिंसा हुने गरेको छ । आमसञ्चार माध्यम प्रयोगमा नागरिक सचेत नहुने हो भने एकै मिनेटमा बैंकमा भएको पैसा स्वाहा मात्रै होइन, ठगीका नयाँ नयाँ उपाय प्रयोग गरिँदा ठूलो समस्या भएको छ । एकै व्यक्तिले फरक–फरक सामाजिक सञ्जाल प्रयोग गरेर ठगीका घटनामा संलग्न हुने गरेको देखिएको छ ।

अवको दिनमा ठगी नियन्त्रणको एउटै उपाय भनेको सबै मिलेर सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र चुनौतिको समाधानमा पहल हो । आगामी दिनमा राज्य, समाज र घर सबैको भूमिकालाई दृष्टिगत गर्दै यो समस्याको मिलेर समाधान खोज्नु आवश्यक छ ।

अवको दिनमा सूचना प्रविधि सम्बन्धी सचेतनाका साथै सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्नुपर्ने आवश्यक छ । सामाजिक सञ्जालमा प्रत्यक्ष कुराकानी गर्ने र त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्ने काम भैरहेको छ ।

त्यसैगरी अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैक खातामा रकम माग गर्ने, रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने देखिएको छ ।

पछिल्लो स्क्यामको घटनाले सवैलाई सूचना प्रविधिसंग सम्वन्धित ठगीबाट जोगिनुपर्ने देखाएको छ । आम सर्वसाधारण नागरिक अव आफै सचेत हुनुपर्ने अवस्था आएको छ ।