© 2026
बाँके, २४ पुस ।
भारतीय गाडीले सस्तो भाडाको लोभ देखाउँदै नेपाली यात्रुलाई ठग्ने गरेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेको नेपाल–भारत सीमा नेपालगन्ज भन्सार कार्यालयमा भारतीय गाडीले यात्रु बोक्नका नेपालमै आएर पार्किङ गर्दै नेपाली यात्रु बोक्दै आएका हुन् ।
एकतिर नेपाली भूमिमा भारतीय गाडीले खुलेआम पार्क गरी यात्रु बोक्छन् भने अर्कोतिर यात्रुहरूले चर्को शुल्क र असुरक्षित यात्रा समेत गर्दै आएको भारतबाट यात्रा गरी नेपाल फर्केका नेपाली कुलपी साहुले बताए ।
उनले भने, “दिल्ली पुग्नका लागि करिब ९ सय पर्छ भने भन्सारमा पार्क गरेका ट्याक्सी चालकहरूले जबरजस्ती सस्तोमा प्रलोभन देखाएर दिल्ली पु¥याए, तर त्यहाँ पुगे पछि ५ हजार नेपाली लिए ।”
दिन नमानेपछि उनले अनेक धम्की लगायत गाली गलौच गर्न लागेको उनले बताए । त्यति मात्र होइन दिल्ली पुग्दा सम्म ४ पटक ट्याक्सी दुर्घटना हुनबाट जोगिएको थियो ।
यता जिल्ला प्रशासनमा पटक पटक जानकारी गराउँदा समेत प्रशासनले कुनै चासो देखाएको छैन । पहिला छोटी भन्सारमा भारतबाट आउने यात्रुहरूका लागि पास बनाउने प्रयोजनका लागि दिइएको थियो भने त्यसलाई अहिले भारतीय नम्बर प्लेटका भारतीय गाडीहरू नेपालबाट भारत यात्रु बोक्ने गरेका छन् ।
भारतीय गाडीले भारतबाटै यात्रु बोक्नु पर्ने हो तर उनीहरू नेपाल आएर बोक्ने गरेका छन् । उनीहरूलाई कुनै पनि निकायले अनुमति दिएको छैन र दिने पनि व्यवस्था नरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनले भने, “यस विषयमा हामीले प्रहरीलाई पटक पटक हटाउन भने पनि कुनै चासो देखाएको छैन ।”
यसरी भन्सारमा भारतीय गाडी पार्क हुँदा नेपाली गाडी सञ्चालकहरूले कारबाही गरेर त्यहाँबाट हटाउन माग समेत गरेका छन् । नेपालगन्जदेखि कोहलपुर बस चालकले भने, “हामीले यहाँ गाडी पार्क गर्ने ठाउँ छैन, बाटोमै पार्क गर्ने गरेका छौ ।”
आफ्नो नेपाली गाडीलाई सुरक्षित गर्नु पर्ने पहिलो प्राथमिकता हो तर भन्सार कार्यालयले भारतीय ट्याक्सीलाई पार्क गरी भन्सार कार्यालयको अवहेलना गरिरहेको बस चालक रामबहादुर थापा मगरले बताए ।
नेपालगन्ज भन्सार कार्यालयको छोटी भन्सार कार्यालयमा बिहानै भारतीय गाडी पार्क भएका हुन्छन् । अरू केही नभएर भारतीय नम्बर प्लेटका गाडीले नेपालबाट भारतमा यात्रु लैजानका लागि राखिएका हुन्छन् ।
यसबारे जिल्ला प्रशासन बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज भन्सार कार्यालय बाँकेमा सम्बन्धित निकाय र आम सर्वसाधारणहरूले जानकारी गराउँदा समेत कुनै पनि निकायले चासो देखाएको छैन ।