Butwal Today

बढैयातालमा माघ मिलन कार्यक्रम हुने

२३ पुष २०८२, बुधबार
अ+
अ-

बर्दिया, २३ पुस ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ बढैया गाउँमा माघ मिलन कार्यक्रम हुने भएको छ । बढैयाताल गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग र बाबा खरक छनिया युवा सञ्जालको आयोजनामा माघको १ र २ गते वडा परिसरमा कार्यक्रम हुने भएको हो ।

बाबा खरक छनिया युवा सञ्जालले थारु समुदायको नयाँ वर्षको रूपमा हरेक वर्ष माघको १ र २ गते कार्यक्रम हुने भएको सञ्जालका अध्यक्ष राकेश चौधरीले बताए ।

उनले भने, हामीले हाम्रो पुस्तौँ देखि चल्दै आएको चलनलाई उजागर गर्नका लागि हामीले माघ मिलन तथा नयाँ वर्ष मनाउँदै आएको छौँ । सुरुको वर्षमा हामीले आफ्नो लगानीमा गर्नु पर्ने भएकोले धेरै आर्थिक समस्या र झन्झट झेल्नु परेको थियो तर त्यस पछि वडाले हरेक वर्ष एक लाख आर्थिक सहयोग गर्न थालेपछि नयाँ वर्ष मनाउन तथा माघ मिलन कार्यक्रम गर्न सजिलो भएको अध्यक्ष चौधरीले बताए ।

हामीले पहिला गाउँमा सामान्य नाच गान गरेर मनाउँदै आएका थियौँ तर नयाँ पुस्ताले नयाँ नयाँ सोचका साथ भव्य रूपमा नयाँ वर्षलाई नयाँ रूप दिएर माघ मिलन कार्यक्रम गर्दै आएको बढैया गाउँ बरघर जय बहादुर थारुले बताए ।

पहिला विना खर्च कार्यक्रम हुँदै आएको थियो तर पहिला सुरुवाती चरणमा गाउँका युवाहरूले आफ्नै लगानीमा गरेको थिए जुन उनीहरूले त्यो कार्यक्रम गर्नका लागि धेरै कष्ट भोग्नु परेको बरघर थारुले बताए । तर अब वडाको आर्थिक सहयोग हुन्छ र त्यसमा ताल छेउका होटेल व्यापारीहरुले सहयोग गरेपछि भव्य कार्यक्रम हुँदै आएको बताए ।

बाबा खरक छनिया युवा सञ्जालले आफ्नो पुर्खाले बनाएको परम्परा र संस्कार संस्कृति जोगिन निकै मेहनत गरेको बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताए । म आउँदा त्यस्तो केही भएको थिएन तर पहिलो वर्ष वडाले समन्वय गर्दा हामीले पहिलो वर्ष देखि माघ मिलन कार्यक्रमका लागि एक लाख रुपैयाँ दिँदै आएको अध्यक्ष त्रिपाठीले बताए ।

माघ मिलन कार्यक्रममा थारु परम्परा अनुसारको नाच स्थानीय कलाकार र थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।

माघ मिलन कार्यक्रम अवधिभर ताल परिसर क्षेत्रमा रहेको होटेल व्यवसायीहरूले सुपथ मूल्यमा माछा तथा नास्ता र खानाको व्यवस्था समेत गरेका छन् ।