लमही।दाङको गढवा गाउँपालिकामा २१ सय ७० जनालाई बायो, सुधारिएको र विद्युतीय चुलो वितरण कार्यक्रम सुरु गरिएको छ ।
गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा गढवा गाउँपालिकाका विभिन्न परिवारलाई माग अनुसारको चुलो र ग्यास वितरण गर्न लागिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए।
गढवा गाउँपालिका आठ वटै वडाबाट संकलित माग अनुसार ९ सय ४७ जना लाई  विद्युतीय चुलो,१ हजार २ सय ६ जनालाई  सुधारिएको चुलो र १७ जना लाई बायो ग्यास( गोबर ग्याँस) बितरण गरिने भएको छ।
विद्युतीय चुलो बितरण कार्यक्रममा बोल्दै  गढवा गाउँपालिका अध्यक्ष  शर्मा पोख्रेलले वातावरणमैत्री चुलो घरघरमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरेको बताए।
नेपालको अर्थतन्त्र लाइ सहयोग पुग्ने गरी स्वदेशी उत्पादनलाई बढावा दिने गरी तिन प्रकारको चुलो/ग्यास वितरण लाई पालिकाले अभियानको रुपमा अघि बढाएको बताए।
सिलिन्डर ग्याँस भारतबाट खरिद गरी प्रयोग गर्दा नेपालको पुंजी सजिलै बाहिरिने र देशको अर्थतन्त्रमा ठुलो ह्रास आउने हुनाले सिलिन्डर ग्यासको प्रयोगलाई घटाउन विद्युतीय चुलो प्रयोगमा बिशेष जोड दिएको जसको देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने अपेक्षा सहित नेपाल सरकार यो कार्यकम अघि बढाएको अध्यक्ष पोख्रेलले बताए।
पहिलो चरणमा विद्युतीय चुलो ६ सय थान वितरण गर्ने र दोस्रो चरणमा अन्य चुलो ग्यास वितरणका लागि प्रक्रिया अघि बढेको नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सामाजिक परिचालक गिरीराज भण्डारी ले जानकारी दिए।
प्रविधिगत लगत साझेदारीमा गढवा गाउँपालिकाको कार्यालय, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र उपभोक्ताको साझेदारीमा चुलो ग्यास वितरण गर्न लागिएको हो। जस्मा विद्युतीय चुलोमा हरित जलबायु कोष १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४७.९७ प्रतिशत, गढवा गाउँपालिकाले १९.०९ प्रतिशत र उपभोक्ताले २२.९४ प्रतिशत खर्च ब्यहोर्ने छन् ।
सुधारिएको चुलोमा हरित जलबायु कोष ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४०  प्रतिशत, गढवा गाउँपालिकाले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत लगानी  रहेको छ।
त्यसैगरी बायो ग्यास (गोबर ग्याँस) मा हरित जलबायु कोष २८.३४ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, गढवा गाउँपालिकाले १० प्रतिशत र उपभोक्ताले १३.६६ प्रतिशत खर्च ब्यहोर्ने सामाजिक परिचालक गिरीराज भण्डारीले जानकारी दिए ।