© 2026
काठमाडौँ ।
वीरगञ्ज महानगरपालिकामा उत्पन्न दुई समुदायबीचको विवाद सुल्झिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी समझदारीमा विवाद समाधान गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज अपराह्न ४ बजे सद्भाव र्याली निकाल्ने सहमति भएको छ । सम्पन्न सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै वीरगञ्जको विवाद समाधान गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
बैठकले अन्य मुलुक वा स्थानमा भएका घटनालाई लिएर वीरगञ्जमा कुनै पनि पक्षले विरोध, प्रदर्शन वा उत्तेजनात्मक गतिविधि नगर्ने सहमति गरेको छ । यस्ता विषयमा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्र शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।
साथै, सामाजिक सद्भावमा खलल नपुग्ने गरी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्ने तथा सबै पक्षले आ–आफ्नो समुदायका सदस्यलाई अनुशासन कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् । गत सोमबार हिन्दुवादी सङ्गठनहरूले आफ्ना देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै प्रदर्शन गरेपछि वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
यसअघि धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यसको विरोधस्वरूप तथा हिन्दु देवी–देवतामाथि आपत्तिजनक टिप्पणी गरिएको आरोपसहित सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका थिए ।
यसबीच, प्रशासनले जारी गरेको कर्फ्यु आदेश आज साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।