Butwal Today

पर्यटक आगमनले बढाएको आशा 

२१ पुष २०८२, सोमबार
अ+
अ-

नेपालका लागि एउटा खुसीको कुरा गत वर्ष भन्दा यो वर्ष धेरै विदेश पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५ सय ४८ पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि तथ्याङ्कले करिब १० हजार धेरै पर्यटक मात्रै यो वर्ष नेपाल आएको देखिन्छ तर १० हजारले पार्ने प्रभावको महत्त्व ठुलो छ ।

नेपालमा यही मात्रामा बर्सेनि पर्यटक बढ्ने हो भने निश्चित रूपमा नेपालमा उत्पन्न आर्थिक सङ्कट समाधानमा टेवा पुग्न सक्छ । नेपालको आर्थिक मन्दी अर्को वर्षसम्म समाप्तिको सम्मुख पुग्ने हुने आशा गर्न सकिन्छ ।

निश्चित रूपमा पर्यटक आगमनले नेपालीलाई खुसी बनाएको छ । जसको कारण नेपालको आर्थिक समृद्धिमा टेवा पुग्नेछ । यसले पर्यटन क्षेत्रमा आशाको किरण छाएको छ । पर्यटन बोर्डका अनुसार गत बर्षभन्दा यो वर्ष नेपाल भित्रिने विदेशी पर्यटकको वृद्धिले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ ।

गत अघिल्लो वर्षको डिसेम्बरमा कुल ८८ हजार हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । डिसेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् ।

यद्यपि अहिले नेपाल आउने सिजन पनि हो । अहिले पनि भारतबाट आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भारतको पर्यटक आगमन हरेक महिना बढ्दो क्रममा छ । यसले के देखाउँछ भने उत्तर प्रदेशको करिब ३५ करोड जनसङ्ख्यामध्ये ५ प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने नेपालको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ । अबको दिनमा उनीहरूको बसाई अवधि लम्ब्याउनेतर्फ पहल जरुरी छ ।

नेपालले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत बनाउन सक्छ तर त्यसका लागि नेपालले अझै मेहनत भने गर्नुपर्नेछ । त्यसका लागि सम्बद्ध पक्ष गम्भीर हुनुपर्दछ । नेपालमा अबको दिनमा निर्वाचनमार्फत स्थिर सरकार निर्माण भयो भने मात्रै यी कुरा सम्भव छ । सबैभन्दा पहिले राजनैतिक स्थायित्वको आवश्यकता छ ।

त्यसपछि मात्रै विकासको कुरा हुनसक्छ । अतः नेपालमा पर्यटक आगमन बढाउन राजनैतिक स्थिरता सबैभन्दा प्राथमिकतामा हुनुपर्दछ । अबको दिनमा पर्यटन क्षेत्रबाट सम्मृद्धिको आशा जगाउने प्रमुख गन्तब्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि हो । यसमा कुनै विवाद छैन तर त्यसका लागि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालन हुनु जरुरी छ ।

नेपालसंगै लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन भएकोले पनि लुम्विनीमा पर्यटन क्षेत्रले आशा जगाएको छ । अबको दिनमा अर्बौ लगानी गरि खुलेका होटल व्यवसायमाथि धराप हुने खालको कुनैपनि कृयाकलाप हुनुहुँदैन ।

होटल व्यवसायीले निर्वाधरूपमा व्यवसाय संचालन गर्ने वातावरण बन्यो भने मात्रै यस क्षेत्रको पनि आर्थिक विकासमा टेवा पुग्न सक्छ । तसर्थ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई गुल्जार बनाउनेतर्फ छिटो पहल होस् ।

व्यवसायीहरूको बर्षौंदेखिको माग यही हो । अतः विमानस्थल ‘फूल फेजमा’ संचालन नहुँदा पर्यटक आगमन कम हुने भएकोले अबको दिनमा तगारा हटाउनेतर्फ पहल होस् ।

अहिले जसरी नेपालमा अघिल्लो बर्षभन्दा यो सन २०२५ मा पर्यटक आगमन बढेको छ, त्यसरी नै अर्को बर्षमा समेत पर्यटक आगमन बढाउने हो भने लुम्बिनी लगायतका मूख्य पर्यटन क्षेत्रको विकासमा ध्यान पु¥याउनु जरुरी छ ।

पर्यटक आगमन बढाउने हो भने पर्यटन पूर्वाधार विकासमा पनि जोड दिनु अबको आवश्यकता हो ।