© 2026
गुल्मी, २१ पुस ।
लाहुरेहरूको गाउँका रूपमा चिनिने गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस विजेता कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध ठुलो बहादुरी र बलिदान प्रदर्शन गरेबापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्य सहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा रानाको सालिक स्थापना गरिएको हो ।
जिल्लाको कालिगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उनी १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो ।
रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताए । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।
भार्से भूपू सङ्घको नेतृत्वमा करिब १६ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको हो । गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्ष भन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गरेको बताइएको छ ।
नेपाल सरकारको तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानी मार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपू सङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले बताएका छन् ।
प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भार्सेमा भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ । ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटो र संक्षिप्त इतिहास सङ्कलन गरिएको छ ।
भूपू गोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ । ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उनका पिता गिरीप्रसाद बुढाथोकीको तस्बिर समेत समावेश गरिएको छ ।
भार्सेमा जन्मिए र हाल हङकङमा रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उनले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब ५७ लाख रुपैयाँ भन्दा बढी रकम व्यक्तिगत रूपमा लगानी गरिसकेका छन् ।
ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सय भन्दा धेरै तस्बिरहरू राखिएको छ ।