© 2026
उद्धारमा गरिएको सक्रियताले बुद्ध एयरको जहाज शुक्रबार राती ठुलो दुर्घटनाबाट जोगिएको छ ।
भद्रपुर विमानस्थलमा अवतरण भैसकेको जहाज पाइलटको असावधानीले रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको अवस्थामा उद्धारमा भएको तदारुकताले मानवीय क्षति हुन पाएन । यद्यपि सात जना यात्रु सामान्य घाइते भएका छन् ।
यसमा पनि पाइलटको लापरबाही देखिएको छ । किनभने अवतरण भैसकेको जहाजलाई अन्तिम विन्दुमा राख्न पाइलटले लापरबाही गरेका थिए । यद्यपि बुद्ध एयरले जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
शुक्रबार राती काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रन–वे बाहिर जाँदा दुर्घटनामा परेको थियो । पाइलटले एक क्षणको लापरबाही गर्दा ५१ जना यात्रुको ज्यान जोखिममा प¥यो । जे होस यो दुर्घटना टरेको छ तर अबको दिनमा जहाल अवतरण भइसकेपछि पाइलट ढुक्क हुनुहुँदैन भन्ने यो घटनाले देखाएको छ ।
सानो कमजोरीले पनि ठुलो क्षति हुन सक्छ भन्ने यो उदाहरण हो । जहाजको कुरा मात्रै होइन, साना सवारीका साधनबाट हुने दुर्घटनाले पनि ठुलो मानवीय क्षति गर्दै आएको प्रशस्तै उदाहरण छ ।
गत पुस २ गते रुपन्देहीकै कञ्चन गाउँपालिकामा जिपले ठक्कर दिँदा १७ वर्षीय ई शान शर्माको मृत्यु भएको घटना बाहिरिएको छ । यद्यपि मृतक परिवारले इशानको हत्या भएको भन्दै बृहत् छानबिनको माग गरेका छन् । इशानको जीपको ठक्करबाट मृत्यु भएको हो भने चालकले लापरबाही गरेको हो भन्दा अत्युक्ति हुँदैन ।
चालकले मदिरा सेवन गरि जीप चलाएको कुरा पनि बाहिर आईरहेको छ । सत्यतथ्य कुरा के हो त्यो अव केही दिनभित्रै बाहिर आउने छ । भन्न खोजिएको कुरा के हो भने चालकले केही क्षण संयम गुमाउँदा ठुलो दुर्घटना हुन सक्छ ।
यस्ता थुप्रै उदाहरण छन जो चालकको क्षणभरको लापरबाही र गल्तीले ठुलो मानवीय क्षति भएको छ । यो बर्षौदेखिको नियति हो । यातायात व्यवसायीले चालकलाई जिम्मेवार बनाउन नसक्दाको परिणाम पनि हो ।
यातायात व्यवसायी र सम्बद्ध संघ संस्थाहरूले चालकहरूलाई बेला बेलामा प्रशिक्षण पनि दिदै आएका छन तर पनि चालकहरू जिम्मेवार नबन्दा दुर्घटना बढिरहेको छ । चालकहरूमा स्टेरिङ समातेपछि हिटलर बन्ने प्रवृत्ति मौलाएको छ ।
अझै टिप्परबाट बढी आतंकित हुनुपरेको तीतो यथार्थ हो । अर्कोतर्फ चालकले गल्ती गरेपनि प्रतिबाद गर्ने यातायात व्यवसायीमा गलत परम्परा बसेकोे छ । चालकलाई जिम्मेवार बनाउन स्वयं यातायात व्यवसायीको ध्यान जानु जरुरी छ ।
आजभन्दा तीन बर्षअघि माघ १ गते पोखरामा भएको यति जहाज विमान दुर्घटनामा पनि पाइलटको लापरबाही देखिएको थियो । जहाज सहायक पाइलटले उडाउँदै गर्दा विगतको रुट विपरित अवतरण गराउने प्रयासमा केही सेकेण्डको गल्तीले ७२ जनाको अनाहकमा ज्यान गयो । जाँचबुझ आयोगले समेत यही निष्कर्ष दिएको थियो ।
भोलीका दिनमा समेत क्षणिक गल्तीले यस प्रकारको क्षतिको नियति नदोहोरियोस् । दुर्घटनाको निरन्तर श्रृंखलाले आम मानिसले कहिलेसम्म यस प्रकारको नियति भोगिरहने ? चिन्ताको कुरा छ ।
सवै चालकलाई एउटै कसीमा राख्न मिल्दैन तर चालक हो भन्दैमा लापरवाहीलाई छुट दिन पनि सकिदैन । यस बिषयमा सरकारका संयन्त्रहरूको ध्यान पुग्नु अत्यावश्यक छ ।
सरकारले सडक सुधार गर्ने र चालक तथा यातायात व्यवसायीले आफ्नो जिम्मेवारीबोध गर्ने हो भने दुर्घटना नियन्त्रण हुन सक्छ । तसर्थ चाहे आकासको होस, चाहे जमिनको नै किन नहोस, दुर्घटनाको नियतीले तेरो मेरो केही भन्दैन । तसर्थ दुर्घटनामा हुने मानवीय र भौतिक क्षतिप्रति सवै जिम्मेवार बन्नु जरुरी छ ।
क्षणिक लापरवाहीले हुने ठुलो मानवीय क्षति रोक्ने बिषयमा सवैको ध्यान जाओस् । भद्रपुर विमान दुर्घटनाले पाठ सिकाओस् । चालकको क्षणिक लापरवाहीले ठुलो मानवीय र भौतिक क्षति हुनेहुँदा उनीहरू संयमित, जिम्मेवार र जवाफदेही बन्नु जरुरी छ ।