Butwal Today

तिलोत्तमामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै बनभोज

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

तिलोत्तमा ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज तिलोत्तमा शाखाको आयोजनामा करिब ३०० जनाको सहभागितामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । योग, ध्यान र अध्यात्मसँगै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रैथाने खानालाई विशेष प्राथमिकता दिइएको थियो ।

बनभोज कार्यक्रममा कोदो, फापरलगायत स्थानीय तथा परम्परागत परिकारहरू समावेश गरिएको संस्थाका सदस्य अर्जुन ज्ञवालीले जानकारी दिए । उनका अनुसार स्थानीय उत्पादनको प्रयोगमार्फत स्वास्थ्य र संस्कृतिको संरक्षण गर्ने सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा सहभागी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले योग र खानपान दुवै मानव जीवनका आधारभूत पक्ष भएको उल्लेख गरे ।
“योगले मानसिक र शारीरिक सन्तुलन कायम गर्छ भने स्वस्थ खानपानले दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्छ,” नगर प्रमुख खाँणले भने, “यस्तो सकारात्मक सन्देश बोकेका कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु ।”

तिलोत्तमा क्षेत्रमा सञ्चालित ९ वटा साधना केन्द्रबाट सहभागी भएका साधक–साधिकाहरूले नियमित योग अभ्यासपछि आफूहरूमा सकारात्मक परिवर्तन आएको अनुभव साझा गरेका थिए। सहभागीहरूले यस्ता योग, ध्यान र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

अध्यात्म, स्वास्थ्य र स्थानीय संस्कृतिको संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यसहित सम्पन्न बनभोज कार्यक्रमले सहभागीहरूमा उत्साह र ऊर्जा थपेको आयोजकले जनाएको छ ।