© 2026
तिलोत्तमा, १८ पुस ।
तिलोत्तमा–१३, पत्थरडाँडामा तिलोत्तमा–१३ निवासी स्वर्गीय सुवेदार नामबहादुर राना कुमालको स्मृतिमा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ । उक्त प्रतीक्षालयको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाणले सार्वजनिक हितका यस्ता संरचनाले नगरको सुन्दरता मात्र होइन, सामाजिक जिम्मेवारी र स्मृतिलाई पनि जगेर्ना गर्ने बताए ।
“निजी स्मृतिलाई सार्वजनिक सेवासँग जोडेर निर्माण गरिएको यो प्रतीक्षालय उदाहरणीय कार्य हो,” नगरप्रमुख खाणले भने, “नगरपालिकाले यस्ता सामाजिक योगदानलाई सधैं प्रोत्साहन गर्दै आएको छ।”
कार्यक्रममा तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको प्रतीक्षालय यात्रुहरूका लागि अत्यन्त उपयोगी हुने बताए ।
“पत्थरडाँडा क्षेत्रमा यात्रुहरूको चाप रहने भएकाले प्रतीक्षालयको आवश्यकता थियो,” उनले भने, “यसले वृद्ध, महिला र विद्यार्थीलाई विशेष सुविधा दिनेछ ।”

त्यसैगरी तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज गुरुङले सामाजिक उत्तरदायित्व बोधका साथ गरिएको यो कार्यले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गरे ।
“स्वर्गीय नामबहादुर रानाको स्मृतिमा गरिएको यो योगदानले भावी पुस्तालाई पनि प्रेरणा दिनेछ,” उनले भने ।
प्रतीक्षालय निर्माणका बारेमा जानकारी दिँदै स्वर्गीय नामबहादुर रानाका छोरा गणेश रानाले आफ्ना बुबाको सम्झनालाई सार्वजनिक सेवासँग जोड्ने उद्देश्यले ३ लाख १० हजार रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको बताए । “बुबाले समाज र राष्ट्रप्रति देखाउनुभएको सेवाभावलाई सम्मान गर्दै हामीले यो संरचना निर्माण गरेका हौं,” उनले भने, “यसले स्थानीयवासी र यात्रु सबैलाई लाभ पुग्ने विश्वास छ ।”
प्रतीक्षालय उद्घाटनसँगै वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरू, वडा न्यायिक समितिका संयोजक, कृषि सञ्जालका संयोजक, आमा समूह, विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रतिनिधि, क्याप्टेन होमबहादुर छन्त्याल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।