© २०२३
सन्धिखर्क, १५ पुस ।
अर्घाखाँचीको जिल्लाको भुमिकास्थान नगरपालिकाले अहिलेसम्म ६ सय ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
विहिबार नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । नगरपालिकाको तर्फबाट वडाले गरेको सिफारिस तथा अन्य अपाङ्गता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा टोलीले छानबिन गरी परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन् ।
कार्यक्रममा ५३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । विहीबार परिचयपत्र प्राप्त गरेका ३२ जना पुरुष र २१ जना महिला रहेका छन् । परिचयपत्र पाएका मध्येमा ४ जनालाई क वर्ग, ३८ जनालाई ख वर्ग, ५ जनालाई ग वर्ग र ६ जनालाई घ वर्गको परिचयपत्र प्रदान गरिएको छ । नगरपालिकाबाटै परिचयपत्र पाएपछि विभिन्न वडाबाट आएका अशक्त नागरिकहरु खुशी भएको प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले जानकारी दिए ।
नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले अति अशक्त अपाङ्ग भूमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई क वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर राजेन्द्र जि.सि., नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्य, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, कार्यपालिका सदस्य खुमा वेल्वासे, शिक्षक प्रतिनिधि गोविन्द आचार्य, खिल्जी प्रहरी चौकीका प्रमुख भेषलाल बुढाथोकी, अपाङ्गको न्यायको क्षेत्रमा काम गर्ने संस्थाको तर्फबाट राधा सुनार सहितको टोलीले जाँच गरी ५३ जनालाई विहिबार परिचयपत्र वितरण गरिएको बताइएको छ ।