Butwal Today

माघीको रौनकले तात्दै थारु बस्ती

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बर्दिया, १७ पुस ।

पुस महिनाको शीतलहरले चिसो बढिरहँदा थारु गाउँ–बस्तीमा भने माघ पर्वको उत्साहले छुट्टै गर्मी थपिएको छ । जाडोसँगै थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघ पर्व नजिकिँदै जाँदा बस्ती–बस्तीमा चहलपहल, गीत–सङ्गीत र नाचगानको तयारी तीव्र बन्दै गएको छ ।

कतै सखिया नाचको अभ्यास भइरहेको छ भने कतै झुम्रा, छोक्रा, हुर्डुंवा र मघौटा नाचले गाउँ नै झुमिरहेको देखिन्छ । मौसमअनुसारका गीत र परम्परागत बाजागाजासँगै थारु समुदायले आफ्नै मौलिक पहिचान झल्काउने सांस्कृतिक अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

माघ पर्व थारु समुदायका लागि केवल चाड मात्र नभई नयाँ वर्ष र जीवनशैलीको सुरुवातको प्रतीक हो । बर्दिया, बाँके, कैलाली, दाङलगायत थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाहरूमा वर्षौँदेखि जगेर्ना हुँदै आएको संस्कृति र संस्कारलाई निरन्तरता दिँदै यस वर्ष पनि गाउँ–गाउँमा माघीको तयारी सुरु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–५ स्थित बढैया गाउँमा रहेको बाबा खरक छनिया युवा सञ्जाल माघीको तयारीमा सक्रिय देखिएको छ । सञ्जालले वडाभित्रका विभिन्न समुदायलाई समेत सहभागी गराई छलफल र समन्वय गर्दै कार्यक्रमको तयारी अघि बढाएको छ ।

दिउँसो बुद्धिजीवी र बरघरहरूसँग परामर्श गर्ने र साँझ नाच–गान, मादल तथा डम्फु बजाउने अभ्यास गर्ने गरिएको सञ्जालका अध्यक्ष राकेश चौधरीले बताए । उनका अनुसार माघ पर्व थारु समुदायको नयाँ वर्ष भएकाले यस अवसरमा हरेक कामलाई नयाँ ढङ्गले सुरु गर्ने परम्परा छ ।

अध्यक्ष चौधरीले विगत केही वर्षअघि माघ पर्व लोप हुने अवस्थामा पुगेको स्मरण गर्दै युवा सञ्जाल दर्ता गरी स्थानीय तहको सहयोगमा ‘माघ मिलन’ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । वडा र पालिकासँग समन्वय गर्दै बरघरहरूसँग छलफल गरी कार्यक्रम आयोजना गरिँदै आएको उनको भनाइ छ ।

बढैयाताल गाउँपालिका–५ का वडा अध्यक्ष तुलाराम चौधरीले आफू निर्वाचित भएदेखि नै माघ पर्वलाई थारु समुदायको पहिचानका रूपमा संस्थागत गर्न प्रत्येक वर्ष वडाबाट एक लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको बताए । पालिकासँग समन्वय गरी वडाको प्रांगणमा भव्य रूपमा माघ मिलन कार्यक्रम आयोजना गरिँदै आएको उनले जानकारी दिए ।

गाउँका बरघर गोविन्द प्रसाद थारुका अनुसार विगतमा करिब एक महिना माघ पर्व मनाइए पनि औपचारिक कार्यक्रम हुन सकेका थिएनन् । युवाहरूको पहलमा सञ्जाल गठन भएपछि सीमित समयमा पनि व्यवस्थित र भव्य रूपमा माघी मनाउन सम्भव भएको उनले बताए । माघ पर्व थारु समुदायको इतिहास र पहिचानसँग जोडिएको महत्त्वपूर्ण चाड भएको उनको भनाइ छ ।

माघीको अवसरमा थारु समुदायमा गाउँका बरघर चयन गर्ने, नीति–नियम बनाउने, कामदार तोक्ने, खेतीपातीसम्बन्धी निर्णय गर्ने जस्ता महŒवपूर्ण कामहरू नयाँ वर्षको सङ्कल्पका रूपमा गरिन्छ । लुम्बिनी प्रदेश सरकारले समेत माघ १ र २ गते सार्वजनिक बिदा दिँदै आएको छ, जसले माघ पर्वको सांस्कृतिक महत्त्वलाई थप पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?