© 2026
सल्यान, १७ पुस ।
“बुढेसकालमा हाम्रो गाउँको सरकारले सम्मान गरेको र सम्झिएको देख्दा एकदमै खुसी छु ।
चिसोले धेरै दुःख दिइरहेको बेला स्विटर र वर्को अनि पैसा पनि पाइयो”, कालीमाटी गाउँपालिका वडा नम्बर २ निवासी १०५ वर्षीया भविसरा सारु मगरले न्यानो कपडा पाएपछि खुसी व्यक्त गर्दै भनिन् ।
कालीमाटी गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको हो । चिसो मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्य र जीवनस्तरमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिका भरि १९० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य राखिएको छ ।
यसै क्रममा बुधबार कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ मा ८० वर्षमाथिका ६७ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक पुरुषलाई ज्याकेट तथा महिलालाई स्विटर र बर्की प्रदान गरिएको छ भने यातायात खर्च बापत प्रतिव्यक्ति नगद पाँच सय रुपैयाँ पनि उपलब्ध गराइएको कार्यक्रम संयोजक दीप बहादुर वलीले जानकारी दिए । ज्येष्ठ नागरिकहरूले चिसो मौसममा गाउँपालिकाबाट प्राप्त न्यानो कपडा र स्वास्थ्य सेवाले आफूहरूलाई राहत मिलेको भन्दै खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा न्यानो कपडा वितरणसँगै स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था चेकजाँच गर्नुका साथै आवश्यक परामर्शसमेत प्रदान गरेका छन् । चिसो मौसमका कारण ज्येष्ठ नागरिकमा देखिन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवासमेत समेटिएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर २ र ३ का नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले ज्येष्ठ नागरिक राज्य र समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको संरक्षण र सम्मान गाउँपालिकाको प्राथमिकतामा रहेको बताए ।
“विकास भनेको सडक, भवन र भौतिक संरचना मात्र नभई मानवीय विकास पनि हो”, उनले भने, “ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा विपन्न वर्गको संरक्षण बिना समग्र विकास सम्भव हुँदैन ।” गाउँपालिका उपाध्यक्ष सनसिलता वली डिसी, प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वलीले ज्येष्ठ नागरिकको अनुभव र योगदान समाजका लागि मार्गदर्शक हुने उल्लेख गर्दै गाउँपालिकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यस्तै वडा नम्बर २ का वडा अध्यक्ष इन्द्र बहादुर वली, वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्री लगायतले बोल्दै ज्येष्ठ नागरिकहरूको योगदानको चर्चा गरेका थिए । ‘पालिकाको साझा अभियान, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण, सम्मान, संरक्षण तथा सहभागिता प्रवर्द्धन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार वडा नम्बर ७ मा न्यानो कपडा वितरण गरिनेछ भने त्यसपछि पालिकाका अन्य वडामा समेत क्रमशः कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रम संयोजक वलीका अनुसार वडा नं. १ मा ३४ जना, २ मा ४४ जना, ३ मा २४ जना, ४ मा ३२ जना, ५ मा २१ जना, ६ मा ११ जना र ७ मा २४ जना गरेर पालिका भरी जम्मा १९० जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् ।
कालीमाटी गाउँपालिकाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलगायत सामाजिक रूपमा कमजोर तथा पछाडि परेका वर्गको संरक्षण र सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विगतका वर्षहरूमा पनि गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई ब्लांकेट वितरण गरेका थियो ।