© 2026
चन्द्रौटा, १७ पुस ।
ससिकला सुनारका श्रीमानको केही वर्ष पहिले भारतमा रोजगारीको सिलसिलामा मृत्यु भयो ।
चार बालबालिकासँगै उनी बिचल्लीमा परिन् । खेतबारी छैन, रोजगारी छैन, त्यसको मार उनले खेपिन् । त्यसपछि निकै सङ्घर्ष गरेकी ३२ बर्षीया सोनारी यति बेला रोजगारी, आम्दानीसँग जोडिएर सहज रूपमा गुजारा चलाउँदै आएकी छन् ।
उनी पान पसल गरेर दैनिकी चलाउँदै आएकी छन् । कपिलवस्तुको शिवराज नगरपालिका–११ कि उनी घरमा खाली बस्दै आएकी थिइन् । करिब ११ महिना अगाडि २२ हजार ५०० रुपियाँ अनुदान पाएको उनी बताउँछिन् ।
पासी करिब एक वर्ष यता रोजगारीसँगै आर्य आर्जनसँग जोडिएकी छन् । अहिले मासिक रूपमा ससिकला सुनारले २० हजार आम्दानी गर्दै चार जनाको परिवार चलाउँदै आएकी छिन् । उनी भन्छिन्, “मनग्ये आम्दानी हुने गरी रोजगारी खुलाएकोमा धन्यवाद छ । अहिले परिवार चलाउन सहज भएको छ ।”
यस्तै वडा नम्बर–४, का दिपराज कुर्मीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । केन्द्रले केही समयअघि अनुदान स्वरूप २५ हजार रुपियाँ उनलाई प्रदान गरेको हो । उनी विगतदेखि नै तरकारी खेती गर्दै आएको बताउँदै सिद्धार्थ सामाजिक विकास केन्द्रको अनुदान पाएको बताए । अनुदानपछि व्यावसायिक तरकारी खेतीमा लागेको उनले बताए ।
३९ वर्षीय कुर्मीले तीन कट्ठा क्षेत्रफलमा तरकारी उत्पादन गरी स्थानीय बजारमा बेच्ने गरेका छन् । एक पटकमा करिब ६५ हजार आम्दानी हुने गरेको बताउँदै उनले ९ जनाको परिवार समेत चलाउन सहज भएको बताए ।
ज्याला मजदुरी गर्दै आएकोमा अनुदानको कार्यक्रमले प्रोत्साहन मिलेको अनुभव उनीसँग छ । त्यसै गरी वडा नम्बर–१० का ओम प्रकाश थारुले तरकारी व्यवसाय गर्दै आएका छन् । यसअघि उनी अरूको जग्गा अँधियामा लिई दैनिकी चलाउँदै आएका थिए ।
उनले खेतीपाती मात्रै दैनिकी चलाउन असहज भएको बेला विकास केन्द्रको साथ पाएको बताए । “विकास केन्द्रले करिब डेढ वर्षअघि १५ हजार अनुदान दियो । त्यही अनुदानले म उठ्ने कोसिस गरेँ । अहिले त्यसैले मलाई उकासेको छ । घरपरिवार चलाउन निकै सहज भएको छ । रोजगारीसँग जोडिएको छु”– थारुले भने ।
आर्थिक अभाव, सीमित अवसर र अधिकारबाट वञ्चित अवस्थाबिच जीवन गुजार्दै शिवराज नगरपालिकाको तीन वटा वडामा विपन्न समुदायको स्थानीय अधिकार कार्यक्रम आशाको आधार बनेको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित यस कार्यक्रमले स्थानीय समुदायको जीवनशैलीमै परिवर्तन ल्याउन थालेको छ । कार्यक्रमअन्तर्गत ५२ जना अनुदान ग्राहीलाई उनीहरूको व्यक्तिगत व्यावसायिक योजना अनुसार रु. १५ हजारदेखि ३२ हजार रुपियाँसम्म अनुदान प्रदान गरेको कार्यक्रम संयोजक अजय सिंह चौधरीले बताए ।
उनका अनुसार सहयोगपछि बङ्गुर पालन, भैंसीपालन, कुखुरापालन, बाख्रापालन, तरकारी खेती, किराना पसल, साइकल मर्मत तथा फोटोकपी जस्ता साना व्यवसाय सञ्चालन र बिस्तार भएका छन् ।
पहिले रोजगारीको खोजीमा अन्यत्र जान बाध्य स्थानीय बासिन्दा अहिले आफ्नै गाउँ ठाउँमा व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । तरकारी खेती र पशुपालनमा जोडिएका धेरै लाभग्राहीले घर खर्च चलाउने मात्र होइन, भविष्यका लागि बचतसमेत गर्न थालेका छन् ।
कार्यक्रमले विशेष गरी महिलाहरूको आर्थिक भूमिकामा उल्लेखनीय परिवर्तन ल्याएको छ । घरायसी काममा सीमित रहँदै आएका महिलाहरू अहिले व्यवसाय सञ्चालनमा अग्रसर छन् ।
आम्दानीको स्रोत हात परेपछि परिवारभित्रको निर्णय प्रक्रियामा महिलाको आवाज बलियो बन्दै गएको मन्ना ससिकला सुनार बताउँछिन् । आर्थिक रूपमा कमजोर तथा अधिकारबाट वञ्चित समुदायलाई सशक्त बनाउँदै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्नु मुख्य उद्देश्य रहेको सहायक कार्यक्रम अधिकृत सञ्जीव गहतराजले बताए ।
स्थानीय स्रोत–साधनको उपयोग, सीप विकास र अनुदानको सहायतामार्फत आर्थिक अधिकारको प्रवर्द्धन कार्यक्रमको केन्द्रमा रहेको छ । यसले स्थानीय स्रोतसाधनको उपभोग गरी रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा समेत सहयोग पु¥याएको केन्द्रले जनाएको छ । साना व्यवसायले गाउँमै आर्थिक गतिविधि बढाएको छ भने उद्यमशील सोचको विकास हुँदै गएको छ ।
कार्यक्रमका लागि कुल रु. १२ लाख ७९ हजार ५०० रुपियाँ खर्च गरिएको छ । कुल लाभग्राही सङ्ख्या ५७ जना रहेकामा हालसम्म एक जनाको मृत्यु भएको संयोजक चौधरीले जनाए ।
स्थानीय तहमा साना अनुदानमार्फत ठुलो परिवर्तन सम्भव हुने उदाहरण बनेको केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेको दाबी छ । यस्ता कार्यक्रमले शिवराज नगरपालिकाका विपन्न समुदायलाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेलेको सितलापुरकी लाभग्राही रोशनी रैदास बताउँछिन् ।
यता, नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले विपन्न परिवारका नागरिकहरूको आयआर्जनमा स्तरोन्नति भएको बताइन् । उनले सानो लगानीले रोजगारी सिर्जना गरेको बताउँदै उनीहरूको जीवनशैलीमा समेत सुधार भएको उनको भनाइ छ । आम्दानी र रोजगारीसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको केन्द्रलाई थारुले धन्यवाद समेत व्यक्त गरिन् ।
विपन्न, महिला, दलित तथा सीमान्तकृत समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका आयआर्जनमूलक कार्यक्रमले सामाजिक र आर्थिक सशक्तीकरणमा टेवा पु¥याएको उनको भनाइ छ ।
“नगरपालिकाले यस्ता कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्दै जान्छ”–उनले भनिन् । उपप्रमुख थारुले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै सीपमूलक तालिम, साना उद्यम र स्वरोजगार कार्यक्रमलाई अझ बिस्तार गरिने बताइन् ।