© 2026
कतार, १६ पुस ।
“तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसात् गर्दै तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु सङ्घ, शाखा कतार दुई संस्थाको संयुक्त प्रयासमा आयोजित गुरुङ जातिको महान् तथा राष्ट्रिय पर्व तमु ल्होसार यस वर्ष पनि आगामी २ जनवरी २०२६ का दिन कतारमा धूमधामका साथ मनाइने भएको छ।
अङ्ग्रेजी नयाँ वर्षको रूपमा हरेक वर्ष पुस १५ मा मनाउँदै आएको ल्होसार विगतका बर्सहरूमा जस्तै यो वर्ष पनि सप्र्हि ल्हो (सर्प बर्ग) को बिदाइ त-ल्हो (घोडा बर्ग) लाई स्वागत गर्दै शुभकामना आदानप्रदानको साथमा स्यौं कैं को कार्यक्रमको पनि मनाउन लागेको हो ।
ल्होसार कार्यक्रममा गुरुङ जातिको मौलिक कला, संस्कृति, नृत्य, तथा परम्परागत संस्कारहरू प्रस्तुतिहरू रहने छन् । साथै विभिन्न सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिको साथमा तमु जातिको मौलिक खेल,छेलो फालेर विजयी हुने,गुरुङ राजा चयन गर्ने,साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहने आयोजक संस्थाहरूले जनाएका छन् ।
“विगतका वर्षहरूमा तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु सङ्घ, शाखा कतारले आ–आफ्नै तवरबाट तमु ल्होसार कार्यक्रम गर्दै आएका थियौँ। तर समयको आवश्यकता र तमु समुदायभित्रको एकताको भावनालाई आत्मसात् गर्दै यस वर्ष भने दुवै संस्थाले संयुक्त रूपमा तमूहरूको राष्ट्रिय चाड तमु ल्होसार मनाउने लागेको अध्यक्ष द्वय राम गुरुङ र दिनेश गुरुङ बताउँछन् ।
भिक्टोरिया गोल्ड एण्ड डायमण्ड कार्यक्रमको मुख्य प्रायोजकको रूपमा रहेको छ भने सह-प्रायोजकको रूपमा रानी महल ट्रेडिङ रहेको छ ।
शुक्रबार डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यपालिका रहेको कार्यक्रममा शरिक हुने टिकट होल्डरहरुको लागी कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको समेत व्यवस्थापन गरिएको छ ।
थप जानकारीको लागी ७७७२५३०९,५०१६५०४४ मा सम्पर्क गर्न सकिने छ । “ल्होसार पर्वलाई भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्न कतारमा स्थापित सम्पूर्ण सामाजिक सङ्घ,संस्था समाजसेवी बुद्धिजीवी लगायत कतारमा रहेका नेपालीहरूलाई उपस्थितिको लागी तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हु सङ्घ, शाखा कतारले अनुरोध समेत गरेका छन् ।