Butwal Today

अन्तर्राष्ट्रिय उडान थप नहुँदाको चिन्ता 

१६ पुष २०८२, बुधबार
अ+
अ-

रुपन्देहीका पर्यटन व्यवसायी, उद्योगी व्यवसायी र नागरिक समाजले जति नै दबाब दिए पनि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानले अहिलेसम्म सन्तोष दिएको अवस्था छैन ।

गत वर्ष चारवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गरेपनि त्यसपछि भने एउटैमा अन्तर्राष्ट्रिय उडान सीमित भएको छ । थाई एयरले मात्रै अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेको तालिकामा भैरहवा मलेसिया उडान पनि छ । तर, अहिलेसम्म प्रगति भएको छैन ।

प्राधिकरणले हालै प्रकाशित गरेको शीतकालीन उडान तालिका अनुसार नेपाल वायुसेवा निगमको जहाज सातामा एक पटक भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुपर्ने हो । तर, नेपाल वायुसेवा निगमको जहाज अन्तर्राष्ट्रिय उडानको लागि भैरहवा नआएको थुप्रै महिना भइसकेको छ । त्यही अवस्था फ्लाई दुबई, कतार एयरवेज र जजीराको पनि छ ।

ती कम्पनीले अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक वर्ष भैसक्यो । गत वर्ष भिजिबिलिटलाई कारण देखाएर उडान रोकेका कम्पनीहरूले त्यसयता भने उडान स्वीकृति लिएरपनि अहिलेसम्म उडानप्रतिको चासो देखाएका छैनन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली गत वर्ष फागुनमा लागू भैसकेको छ । यो प्रणाली लागू भएपछि कम भिजिबिलिटी हुँदा पनि जहाज अवतरण गराउन सकिने भएको छ तर अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको चासो अझै गएन ।

अरू त अरू राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले समेत उडान गरेको छैन् । विडम्बना के छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कार्गो विमानस्थलको रूपमा विकास गर्ने र काठमाण्डौमा कुनै कारणबस अवतरण हुन नसकेका जहाजलाई डाईभर्ट गर्न मात्रै उपयोग गर्ने कुरा सुनिएको छ ।

यदि यो साँचो हो भने यसले समग्र लुम्बिनी क्षेत्रको मानमर्दन गर्नेछ । लुम्बिनीको विकासमा ठूलो घाटा हुनेछ । अर्बौं लगानी गरेर स्थापना भएका होटल व्यवसाय डुब्ने अवस्था आउन सक्छ । गत वर्ष हुस्सु तथा कुहिरोको कारण भिजिबिलिटी कम भएको भन्दै उडान स्थगित गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पुनः उडान सञ्चालनमा चासो नदिनु चिन्ताको कुरा हो ।

यसले समग्र लुम्बिनी प्रदेशका जनतालाई चिन्तित बनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन भएमा मात्रैपनि समग्र लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास सिर्जना हुन्छ । अन्तर्राष्ट्रिय उडान भएको अवस्थामा मात्रै यसले लुम्बिनी क्षेत्रको पर्यटनमा मात्रै होइन, आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

भिजिबिलिटीको कारण देखाउँदै कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबईले गत वर्ष मंसिरको अन्तिम सातादेखि स्थगित गरेको अन्तर्राष्ट्रिय उडान मौसममा खुलेपछि गत वर्ष केही समय सुरु गरेका थिए । यसबाट यो विमानस्थल सञ्चालनमा समस्या छैन भन्ने प्रमाणित गरेको थियो तर अवस्था उल्टो भएको छ ।

नेपालका श्रमिकहरूको प्रमुख गन्तब्य मानिएको कतारले समेत भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रतिवद्धता जनाएको थियो तर उडान सुरु भएन । यसले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डुबाउने खेल सुरु भएको भन्ने आशंकालाई थप बल पुगेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले काठमाण्डौंको विकल्प दिनसक्छ भन्ने कुरा प्रमाणित भैसकेको अवस्थामा अन्तर्राष्ट्रिय उडानको कटौतीले धेरै आशंका जन्माएको छ । अवको एउटै विकल्प सरकारले विमानस्थल संचालन गर्न आवश्यक पर्ने पूर्वाधार, भिसा सेन्टर, श्रम, मेडिकल लगायतका सुविधा भैरहवाबाटै सुरु गरोस् ।

त्यो भयो भने काठमाण्डौंमा भएका श्रम लगायत म्यानपावर व्यवसायीको ध्यान यहाँ तानिने थोरै आशा गर्न सकिन्छ । जेहोस भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई जसरीपनि सफल वनाउने विषयमा सरकार, यस क्षेत्रका पर्यटन व्यवसायी र आम नागरिक सवैको ध्यान जाओस् ।

बिमानस्थलबाट थप अन्तर्राष्ट्रिय उडानका लागि सरकारमाथि थप दबाब दिने सवालमा लुम्बिनी र भैरहवा क्षेत्रका पर्यटन व्यवसायी जागरुक बन्नुपर्ने आवश्यकता देखिएको छ ।