Butwal Today

लुम्बिनी लायन्सको ट्रफी सहितको टोलीलाई कप्तान पौडेलको निवासमा स्वागत

१५ पुष २०८२, मंगलवार
अ+
अ-

नवलपरासी, पश्चिम्  । 

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली  आज बिहान कप्तान रोहित पौडेलको घरमा पुगेको छ  ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ स्थिति बुद्धबस्तिमा रहेको कप्तान पौडेलको घरमा  पुगी खुसी साटासाट गरिएको छ । ट्रफी सहितको टोलीलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र स्थानीय खेल प्रेमीहरुले स्वागत गरेका थिए ।स्वागत कार्यक्रममा बर्दघाट नगरपालिकाद्वारा कप्तान पौडेलका आमा बुवालाई कदर पत्र सहित सम्मान गरिएको छ ।

स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कप्तान पौडेल र बर्दघाट नगरपालिका एक अर्काका परिपूरक जस्तै बनेको उल्लेख गर्दै समग्र नगरको नाम विश्वमा चिनाउन सफल भएको बताए  ।उनले खेल क्षेत्रको प्रवर्द्धनमा नगरपालिका अघि बढेको उल्लेख गर्दै बर्दघाट १० मा क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

खेलप्रति आकर्षण र खेलाडीको सम्मानका लागि समग्र खेलकुदको विकासलाई अगाडि बढाइएको श्रेष्ठले बताए । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई समेत स्वागत एवम्  सम्मान गरिएको छ ।

लुम्बिनीको मुख्य प्रवेश द्वार बर्दघाटमा ट्रफी प्रदर्शन गर्ने मौका दिएकोमा नगर प्रमुख श्रेष्ठले लुम्बिनी लायन्सलाई धन्यवाद दिए ।