Butwal Today

वृद्धाश्रममा माया र सहयोग बाँड्दै रोटरी क्लब अफ बुटवल चौतारी

१३ पुष २०८२, आइतबार
अ+
अ-

बुटवल, १३ पुस ।

रोटरी क्लब अफ बुटवल चौतारीले ज्येष्ठ नागरिकप्रति सामाजिक उत्तरदायित्व र मानवतामूलक भावना व्यक्त गर्दै आफ्नो २७५औँ साप्ताहिक नियमित बैठक शनिबार भैरहवास्थित श्री सत्य साई वृद्धाश्रममा सम्पन्न गरेको छ। बैठक पौष १२ गते (२७ डिसेम्बर  का दिन क्लवका कार्यबाहक अध्यक्ष केशव भुसालको अध्यक्षतामा सफलतापूर्वक आयोजना गरिएको हो।

कार्यक्रममा क्लबका चार्टर अध्यक्ष डा. विष्णु घिमिरे, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, पूर्व अध्यक्ष तथा सहायक गभर्नर दिनेश मणि सुवेदी, कार्यवाहक अध्यक्ष केशव भुसाल, प्रेसिडेन्ट इलेक्ट वासुदेव भुसालसहित क्लबका बोर्ड सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकको अवसरमा क्लबले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई करिब २५ हजार रुपैयाँ बराबरका न्यानो कपडा तथा चामल, चिनी, चियापत्ती, चिउरा लगायत दैनिक जीवनमा आवश्यक खाद्यान्न सामग्रीहरू सहयोगस्वरूप वितरण गरेको छ।

सेवामूलक कार्यक्रममार्फत रोटरी क्लबले सेवा नै सर्वोपरि भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतारेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले करुणा, आपसी सहयोग र सामुदायिक सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको क्लवका कार्यबाहक अध्यक्ष केशव भुसालको भनाइ छ।

क्लबका पदाधिकारी तथा सदस्यहरूले आगामी दिनहरूमा पनि समाजका ज्येष्ठ नागरिक, कमजोर तथा विपन्न वर्गको हितलाई केन्द्रमा राखी यस्ता मानवतामूलक र सेवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।