© २०२३
रोल्पा, १२ पुस ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट सिफारिस भएका छन् । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समन्वय समिति रोल्पाले संयोजक प्रचण्डलाई रोल्पाबाट सिफारिस गरेको हो ।
जिल्ला पार्टीले पौष १० गते संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपाललाई संशोधन गरी प्रेषित गरेको पत्रमा पार्टी संयोजक प्रचण्डलाई आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलो नम्बरमा सिफारिस गरेको हो ।
प्रचण्ड २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । काठमाडौँ क्षेत्र नं. १० बाट समेत निर्वाचित भएका प्रचण्डले एक निर्वाचन क्षेत्र छोड्नु पर्ने व्यवस्था अनुसार काठमाडौँ १० रोजेर रोल्पा २ छोडेका थिए ।
सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ दोस्रो नम्बरमा वर्षमान पुनमगरलाइ सिफारिस गरेको छ । यस्तै तेस्रो नम्बरमा कुलप्रसाद केसी, चौथो नम्बरमा जयपुरी घर्ती र पाँचौँ नम्बरमा जेन्जी युवा दिपक रोकालाई सिफारिस गरेको हो । रोल्पा रांसीका रोका वाइसिएल रोल्पाको उपाध्यक्ष समेत हुन ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ भने पहिलो नम्बरमा पूर्व सभामुख कृष्णवहादुर महरालाई सिफारिस गरेको छ । महरालाई खस आर्य क्लष्टरवाट सिफारिस गरिएको हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ दोस्रो नम्बरमा पवित्रा घर्ती मगर सिफारिसमा परेकी छन् ।
घर्ती मगर महिला /जनजाति कलष्टरबाट सिफारिसमा परेकी घर्ती मगर चर्चित लोकगायक समेत हुन । नेकपा एकीकृत समाजवादीबाट पार्टी एकीकरणमा आएकी घर्ती मगर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत तत्कालीन नेकपा एकीकृत समाजवादीको पहिलो नम्बर वन्दसूचीमा परेकी थिइन ।
समानुपातिक सूचीको तेस्रो नम्बरमा महिला/दलित/युवाको तर्फबाट गीता नेपाली परेकी छिन । नेपाली पनि नेकपा एकीकृत समाजवादीबाट एकीकरण आएकी हुन । समानुपातिक सूचीको चौथो नम्बरमा भने वावुलाल पुन सिफारिसमा परेका छन् । पुनलाई सहिद परिवार क्लष्टरवाट सिफारिस गरिएको हो ।
सो पार्टीले जिल्लामा एक्लाएक्लै प्रतिस्पर्धा भए आफूहरूहरूले सहजै जित्ने तर अन्य सबै पार्टीहरू आफ्नो पार्टी विरुद्ध मोर्चा वन्दी भए जटिलता थपिने सुझाव समेत दिएको छ । विगतको निर्वाचनमा आफ्नो पार्टीको अवस्था राम्रो रहेको र नयाँ उदयमान पार्टीहरूको अवस्था समेत सामान्य रहेकाले रोल्पामा आफ्नो पार्टीले जित निकाल्ने सक्ने बताएको ।
नेपाली काँग्रेस रोल्पाले यस अघि नै उम्मेदवार सिफारिस गरि सकेको छ । सो पार्टीले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाका निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेको हो । पार्टी जिल्ला कार्य समितिको बैठकको निर्णय बमोजिम सो सिफारिस गरेको नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।
जस अनुसार आगामी फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका महामन्त्री गगन थापा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुन, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मनोजमणी आचार्य , ज्ञानबहादुर वली र इन्जिनियर डाक्टर मन्दिप सुवेदीको नाम सिफारिस गरेको हो ।
यस्तै प्रतिनिधि सभाको समानुपातिक सूचीका लागी भीम कुमारी वुढागर, पुष्पा श्रेष्ठ, मानबहादुर खत्री र मनिकला राना को नाम सिफारिस गरेको छ । यस्तै आसन्न माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागी अधिवक्ता माधव प्रसाद आचार्य र झक्कुप्रसाद घर्ती मगरको नाम सिफारिस गरेको छ ।
पार्टी महाधिवेशन चुनाव अघि गर्ने की पछि भन्ने विषयमा निर्णय गर्न १ महिना भन्दा लामो समय लगाएको नेपाली काँग्रेसले उम्मेदवार सिफारिस भने अन्य दल भन्दा अगाडी गरेर निर्वाचनमा होमिन तयार रहेको जनाउ दिएको थियो ।
नेपाली काँग्रेस रोल्पाले पार्टी महामन्त्री समेत रहेका प्रभावशाली नेता गगन थापाको नाम एकाएक सिफारिस गरेपछि नेपाली राजनीति वृत्त तातिएको छ । के साँच्चै गगन थापा रोल्पा वाट उम्मेदवार वन्लान भन्ने विषयले चर्चा पाइरहेको छ ।