© २०२३
चन्द्रौटा, १२ पुस ।
कपिलवस्तु जिल्लाका तीन पालिकामा थारु समुदायको महान पर्व माघी (खिचडी) महोत्सवको भव्य तयारी भएको छ । थारु जातिको नयाँ वर्ष २६४९ लाई उत्सवका रूपमा मनाउँदै भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले जिल्लाको विभिन्न स्थानमा नगरस्तरीय महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुले जनाएको छ ।
“हम्मन संस्कृति, हम्मनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सव थारु बाहुल्य क्षेत्रहरूमा थारु जातिको अस्तित्व जोगाउने अभियानको रूपमा लिइएको छ । थाकस कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा माघ १, २ र ३ गते उमरीमा, बुद्धभूमि नगरपालिकामा पुस २९, ३० र माघ १ गते बुड्ढी तालमा तथा बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते लखनपारामा माघी महोत्सव आयोजना हुनेछ ।
थारु समुदायको हकहित र अधिकार संरक्षणका लागि माघी पर्वलाई भव्य रूपमा मनाइँदै आएको थाकसा कपिलवस्तुका सभापति पवन थारुले बताए । थारु जातिले नयाँ वर्षको स्वागत गर्दै परम्परागत भेषभूषा, सांस्कृतिक कार्यक्रम र सामूहिक सहभागितामार्फत पर्व मनाउने परम्परा रहेको उनले बताए ।

थारु जातिको पहिचान जोगाउन माघी महोत्सवले महत्वपूर्ण योगदान दिने थाकस शिवराज नगर समितिका सभापति तथा थारु संग्रहालय संरक्षण समिति अध्यक्ष प्रकाश थारुले बताए । शिवराज नगरस्तरीय महोत्सव शिवराज नगरपालिका–१, उमरीमा हुने जनाए । उनका अनुसार महोत्सवलाई सफल बनाउन नगरभित्रका थारु समुदायका बरघरहरुलाई परिचालन गरिएको छ ।
महोत्सवमा थारु भाषा, कला र संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी, थारु खानाका परिकारका स्टल, सांस्कृतिक झाँकी तथा झुमरा, झर्रा, बड्का, लाठी, मयूर नाच लगायतका नृत्यहरू प्रस्तुत गरिनेछन् । साथै सजनी–विरहनी, रेकर्ड डान्स प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने कपिलवस्तुका थारु अगुवाहरुको दावी छ ।